४ जेष्ठ २०८१, शुक्रबार
एचआइभी सङ्क्रमित आमाबुवाबाट सङ्क्रमणमुक्त बालबालिका
  • काँचुली खबर

१० कात्तिक, नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालमा चिकित्सकको प्रत्यक्ष निगरानीमा रही नियमित औषधि सेवन गरिरहेका एचआइभी सङ्क्रमित आमाबुवाबाट सङ्क्रमणमुक्त बालबालिका जन्मिरहेका छन् ।

एचआइभी सङ्क्रमित आमाबुवाबाट सङ्क्रमणमुक्त शिशु जन्मन थालेपछि सङ्क्रमित आमाबुवाको खुशीको सीमा छैन । उनीहरु निकै उत्साहित भएका छन् । भेरी अस्पतालमा चिकित्सकको प्रत्यक्ष निगरानीमा रही नियमित औषधि सेवन गरिरहेका संक्रमित आमाबुवाबाट जन्मिएका बालबालिका एचआइभी सङ्क्रमणमुक्त रहेको पाइएको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केत रिसालले चिकित्सकको निगरानीमा गर्भावस्थाबाटै नियमित औषधि सेवन गरिरहेका सङ्क्रमितको सङ्क्रमणमुक्त शिशु जन्मिरहेको बताए ।

उनले भेरी अस्पतालको रोग प्रतिरोधक क्षमता अभिवृद्धि केन्द्र (एआरटी सेन्टर) मा नियमित औषधि सेवन गर्दैआएका सङ्क्रमित आमाबुवाले जन्माएका शिशुहरू एचआइभी सङ्क्रमणमुक्त रहेको बताए ।

रिता केसी (नाम परिवर्तन) एचआइभी सङ्क्रमित छिन । उनका चार छोरी छन् । ती मध्ये तीन जनामा एचआइभी सङ्क्रमण छ । तर कान्छी छोरी भने सङ्क्रमणमुक्त जन्मिइन् ।

चिकित्सकको निगरानीमा गर्भावस्थाबाटै नियमित औषधि खाएपछि उनकी कान्छी छोरी स्वस्थ जन्मिएको डा. रिसालले बताए । डा. रिसालका अनुसार रिताको छोरी मात्र होइन सङ्क्रमित आमाबुवाबाट जन्मिएका अन्य बालबालिका पनि सङ्क्रमणमुक्त छन् । चिकित्सकको सल्लाहअनुसार नियमित एआरटी सेवा लिएका सङ्क्रमितले जन्माएका धेरै बच्चामा एचआइभी संक्रमण नेगेटिभ देखिने गरेको छ ।

भेरी अस्पतालका अनुसार पछिल्लो डेढ वर्ष यता सङ्क्रमितबाट जन्मेका १८ महिनाभन्दा कम उमेरका ६ जना शिशु पूर्ण स्वस्थ र सङ्क्रमणमुक्त छन् । भेरी अस्पतालमा २०६२ फागुनमा एआरटी सेवा सुरु भएको थियो । एआरटी युनिटमा अहिले नेपाली र भारतीय गरी ५७० जना सङ्क्रमित उपचारका लागि नियमित आउनेगरेको सो अस्पतालले जनाएको छ ।
गोरखापत्रबाट

  • १० कार्तिक २०८०, शुक्रबार १४:३१ प्रकाशित
  • Nabintech