हेलिकप्टर दुर्घटनामा घाईते भएका पाइलट सेढाईंकाे निधन
  • काँचुली खबर

८ कात्तिक, काठमाडौं । मनाङ एयरका पाइलट प्रकाश सेढाईंको निधन भएको छ । उनले चलाएको हेलिकोप्टर गएको असोज २७ गते शनिबार सोलुखुम्बुमा दुर्घटना भएको थियो । दुर्घटनामा परी पाइलट सेढाईं घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याप्स अस्पताल लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि मुम्बई लगिएको थियो ।

उनको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो निधन भएको हो । मनाङ एयरले विज्ञप्ति निकाली चिकित्सकहरूको अथक प्रयत्नका बाबजुद उपचारका क्रममा पाइलट सेढाईंको निधन भएको जनाएको छ । सेढाईं कुशल र अनुभवी पाइलटका रूपमा चिनिन्छन् । मनाङ एयरका अनुसार सेढाईंको शव आजै काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कडेलले उपचारका क्रममा मनाङ एयर हेलिकोप्टरका पाइलट सेढाईंको निधन भएको बताए ।

दुर्घटनामा परी उनको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो । हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ बजेर १३ मिनेटमा उडेको हेलिकोप्टर दुर्घटना भएको थियो ।

  • ८ कार्तिक २०८०, बुधबार १०:२५ प्रकाशित
  • Nabintech