निल सागर आश्रमलाई खाद्यान्न तथा कम्बल सहयोग
  • काँचुली खबर

५ कात्तिक, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको निल सागर आश्रमलाई न्यानो कम्बल तथा खाद्यान्न सामग्री सहयोग गरीएको छ । सामुदायिक सेवा केन्द्र बाँकेको संयोजनमा कोहलपुरका प्रतिष्ठित ब्यापारी एवं कविर अल्टर्नेटिभका प्रोप्राईटर बिष्णु प्रसाद ढकालले सहयोग उपलब्ध गराएका हुन ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष सनत रेग्मीको पहलमा असहाय, अशक्त र वेवारिसे अबस्थाबाट उद्धार गरी आश्रम लगिएका ब्यक्तिहरुलाई जाडो छल्ने गरि कम्बल, फलफुल र अन्य खाद्य सामाग्री वितरण गरिएको हो ।

बडा दशैंको अवसर पारेर विगत ५ वर्षदेखि बिभिन्न क्षेत्रका असहाय र अशक्तहरुलाई करीब २० हजार बराबरको सामाग्री वितरण गर्दै आएका ढकालले यस पटक आफ्नै कर्मथलोका असहायहरुलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन । गत वर्ष ढकालले सुर्खेत पुगी सहयोग वितरण गरेका थिए ।

उपलब्ध सामग्री ग्रहण गर्दै निल सागर आश्रमकी अञ्जु न्यौपाने निलसागरले ५ वर्षदेखि सेवाभावका साथ कोहलपुर क्षेत्रमा आश्रम चलाईरहेको बताउदै अभावमा पनि मानव सेवाभावलाई निरन्तरता दिएको बताईन । उनले चिसोमा असहाय र अशक्तहरुलाई भुईमा कार्पेटको ब्यवस्था गर्न नसकिएको, उनीहरुलाई मनोरञ्जन प्रदान गर्न सामान्य श्रब्य दृष्यका लागि टिभिको ब्यबस्था गर्न समेत नसकेको भन्दै सहयोगका लागि मनकारी दाताहरुसँग सहयोगको अपिल गरेकी छिन ।

आफ्नो नगर भित्रका नागरीकलाई स्थानिय सरकारले पहल गर्नुपर्ने दायित्व भएपनि कोहलपुर नगरपालिकाले वार्षिक न्युन (५ लाख) रकम मात्र उपलब्ध गराउँदै आएको बताउँदै न्यौपानेले आश्रममा आउने अधिकांश मानसिक रोगी हुने भएकाले उपचारमा हुने खर्चसम्म धान्न गाह्रो हुने गरेको तितो अनुभव ब्यक्त गरिन ।

‘जो यो आश्रममा सहयोगका लागि आउन चाहनुहुन्छ उहाँहरुलाई पहिले खाद्यान्न नै सहयोग गर्न भन्ने गरेका छौं’, २७ जनाको स्याहार सुसारको ब्यबस्थापन गर्दै आएकी न्यौपानेले भनिन । ‘मासिक ३५ हजार भाडा तिर्नुपर्छ ब्यबस्थापनमा निकै कठिनाई छ । यसो भन्दै गर्दा बेसहाराहरुलाई यसै छोडन मिलेन मनकारी दाताहरुबाट जेनतेन चलेका छौं’ भन्दै निलसागर आश्रमको रेखदेखमा ब्यस्त न्यौपानेले सहयोगी दाताहरुसँग एकपटक निलसागर आश्रममा आएर यहाँको अवस्था अवलोकन गर्न समेत अनुरोध गरिन ।

भेटघाट तथा सहयोग हस्तान्तरण कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष सनत रेग्मीले आफु आबद्ध रहेको राधा कृष्ण यातायात प्रा.लि.का तर्फबाट ५० हजार सहयोग गर्ने घोषणा गरेका छन । त्यसैगरी सामुदायिक सेवा केन्द्रका सचिव रवि रोकायले आश्रममा आउने बालवालिकाहरुका निम्ति अध्ययनको ब्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

सामाुदायिक सेवा केन्द्रका संस्थापक तथा संरक्षक विष्णु प्रसाद वेल्वासेले मानव सेवाको अभियानलाई निरन्तरता दिने बताउदै आश्रममा रहेका ब्यक्तिहरुलाई उपचारका लागि अस्पतालसम्म लैजान आफनो संस्थाद्धारा सञ्चालित एम्वलेन्स नि:शुल्क उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका छन ।

उनले निल सागर आश्रममा हुने समस्याहरुलाई दाताहरुसंग पुर्याउन आफुहरुले मिडिया क्याम्पेन समेत गर्ने बताए । सो अवसरमा सामुदायिक सेवा केन्द्रका कोषाध्यक्ष ओम जंग शाहि, कोहलपुर टाईम्सका कार्यकारी समपादक प्रमोद रिजाल, रेडियो मिसनकी सिवानि वि.क., आरोग्य मिडियाका विजय परियार लगाएत ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । सामुदायिक सेवा केन्द्रको टिमले आश्रममा रहेका बिभिन्न प्रक्रितिका ब्यक्तिहरुसंग भलाकुसारी गर्नुका साथै आश्रमको अवलोकन समेत गरेको थियो ।

  • ५ कार्तिक २०८०, आईतवार १४:४७ प्रकाशित
  • Nabintech