३ कार्तिक, नरैनापुर । हिन्दु धर्मावलम्बीको महान् चाड दशैं, तिहार र छठपर्वमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय भगवानपुरले विशेष सुरक्षा योजना सञ्चालन गरेको छ ।
अन्य चाडपर्व भन्दा दसैं तिहारमा बढी आर्थिक कारोबार हुने र यही समयमा अपराधका घटना समेत बढ्न सक्ने भन्दै विभिन्न टोलीमा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिए ।
बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागको बिशेष सहभागितामा राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका वडा अध्यक्षहरु, उद्योगी, व्यवसायी तथा सरोकारवाला निकायसँग छलफल गरी इलाका प्रहरी कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०८० तयार पारेर कार्यान्वयनमा ल्याएको हो ।
वर्तमान परिस्थितिलाई आकलन गरेर चाडपर्व केन्द्रित सुरक्षा व्यवस्था कडा बनाउन प्रहरीलाई सुझाव दिएको अध्यक्ष शाहले बताए ।
यसअघि नेपालगञ्ज, धरान, सर्लाही लगायत जिल्लामा भएका घटनालाई लिएर बाँकेको नरैनापुरमा सुरक्षा व्यवस्था कडा बनाइएको हो । हिन्दूहरूको मठ-मन्दिरलाई सुरक्षा गर्ने यात्रुलाई चाडपर्व मनाउन घरसम्म जान सहज वातावरणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीलाई निगरानी बढाउन नरैनापुर गाँउपालिकाले निर्देशन दिएको छ ।
त्यस्तै, दुर्गा पूजा तथा दुर्गा मूर्ति विसर्जनका क्रममा झै-झगडा र दुर्घटना हुन नदिन ‘क्वीक रेस्पोन्स टिम’ र चेकिङका लागि मोबाइल गस्ती गरिने प्रहरी निरिक्षक रायमाझीले बताए ।
नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले चाडपर्व लक्षित सुरक्षा योजनालाई सफल बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । बैठकमा नरैनापुरका ६ वटै वडाका वडा अध्यक्षहरु, राजनितिक दलका प्रतिनिधि र सशस्त्र प्रहरीका डिएसपी जगदिश जोशी लगायतको सहभागिता रहेको थियो ।
३ कार्तिक २०८०, शुक्रबार १९:२९ प्रकाशित