नेपालले दियो साउदीलाई ३४८ रनको विशाल लक्ष्य
  • काँचुली खबर

२ कात्तिक, काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको छ ।

युएसडी-युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अर्जुन कुमाल र आकाश त्रिपाठीको शानदार प्रदर्शनमा नेपालले विशाल स्कोर बनाएको हो ।

नेपालले ७ विकेट गुमाएर ३४७ रन बनायो । नेपालका लागि अर्जुनले १४२ र आकाशले ८९ रनको महत्वपूर्ण योगदान गरे भने भने ओपनिङमा आएका दीपक बोहोरा २९ रन बनाए ।

चौथो नम्बरमा आएका कप्तान देव खनाले भने शून्य रनमै आउट भए । त्यसपछि आएका दीपकप्रकाश डुम्रे १४ रनमा आउट भए । मिलन बोहरा ९ रन र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे ।

साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले दुईरदुई, जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले एकरएक विकेट लिए ।

यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले दुवै टोलीका लागि महत्वपूर्ण छ । समूह ए मा नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुईरदुई खेल जितेका छन् । समान ४ अंक भए पनि नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ ।

यस खेलको विजेता सेमिफाइनल पुग्नेछ र यू-१९ एसिया कपको लागि एक स्टेप नजिक पुग्नेछ ।

हाल भइरहेको यू-१९ प्रिमियर कपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ र हरेक समूहबाट शीर्ष स्थानमा रहने टोली मात्र सेमिफाइनल पुग्ने भएकोले सबै खेल उत्तिकै महत्वपूर्ण हुनेछ ।

समूह ए को विजेताले सेमिफाइनलमा समूह डीको विजेतासँग खेल्नेछ ।

समूह डी को अन्तिम दुई खेल शुक्रबार हुनेछ । जसमा जापान र हङकङ तथा मलेसिया र इन्डोनेसियाबीच खेल हुनेछ ।

जापान २ खेल जित्दै ४ अंक जोडेर शीर्ष स्थानमा छ । हङकङ र मलेसियाको एक जित र एक हारबाट समान २ अंक छ । दुवै खेलमा पराजित इन्डोनेसिया अंकविहीन छ ।

यू-१९ प्रिमियर कपको शीर्ष तीन टोली मात्र यू-१९ एसिया कपमा छनोट हुनेछन् ।

मलेसिया जानुअघि नै नेपालले यू-१९ प्रिमियर कपको च्याम्पियन हुँदै यू-१९ एसिया कपमा छनोट हुने लक्ष्य राखेको छ ।

  • २ कार्तिक २०८०, बिहीबार १२:३७ प्रकाशित
  • Nabintech