२६ असोज, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा-८ महेन्द्रपार्कका छोटु केवट र उनका दाजु सुरज केवटको एक महिना यताको दैनिकी फेरिएको छ ।
नेपालगञ्जको महेन्द्रपार्क नजिकै दुई दाजुभाइ विजयादशमीको स्थापना गरिने दुर्गा भवानीको मूर्ति (प्रतिमा) बनाउन दिनरात ब्यस्त छन । बाँके लगायतका तराईका जिल्लामा विजयादशमीको घटस्थापनाको भोलिपल्ट द्वितीया दिनमा सहरका चोक तथा गाउँबस्तीमा दुर्गा भवानीको प्रतिमा स्थापना गरी पूजाआजा गर्ने प्रचलन छ ।
यसरी स्थापना गरिएका मूर्तिहरु विधिपूर्वक विजयादशीको टीकाको भोलिपल्ट नदी तथा खोलामा विसर्जन गर्ने गरिन्छ । विगत आठ वर्षदेखि दुर्गा भवानीको मूर्ति बनाउँदै आएका छोटु दुर्गा भवानीसहित गणेश भगवान र अन्य विभिन्न देवीदेउताको मूर्ति तयार पारिएको बताउँछन ।
छोटुले भने, ‘माटो र परालबाट बनाइने भएकाले कम खर्चमै मूर्ति निर्माण गर्न सकिन्छ ।’ दिनरातको मेहनतको तुलनामा कम मूल्यमा मूर्ति विक्री गर्दैआएको उनको भनाइ छ ।
साना र ठूला मूर्ति निर्माण गरेका छोटुले ठूलाखालका मूर्तिको मूल्य १८ हजार रुपियाँसम्म रहेको बताए । विभिन्न स्थानमा मूर्ति स्थापना गर्नेहरुले पहिले नै भनेअनुसारका मूर्ति तयार पारिरहेका केवट दाजुभाइले हरेक वर्ष विजयादशमीमा यसखालका मूर्तिहरु तयार पार्दै आएका छन ।
नेपालगञ्ज, कोहलपुर सहित जिल्लाका अन्य स्थानमा समेत यसखालका मूर्तिहरु तयार भइरहेका छन् ।
२६ आश्विन २०८०, शुक्रबार १५:५२ प्रकाशित