श्रम शिविरमा बाँकेका माओवादी, स्थानियलाई बालि भित्राउन सघाउँदै
  • काँचुली खबर

२५ असोज, नेपालगन्ज । नेकपा (माओवादी केन्द्र) बाँकेले विशेष रूपान्तरण अभियान अन्तर्गत बाँकेमा श्रम शिविर संचालन गरेको छ । गत भदौ १६ गते देशैभर एकसाथ सुरु भएको तीन महिने ‘जनतासँग माओवादीः विषेश रुपमान्तरण अभियान’ अन्तर्गत बाँकेका माओवादी नेता कार्यकर्ताहरू श्रम शिविरमा खटिएका छन ।

अभियान अन्तर्गत बुधवार बिहान नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ फारामटोलका स्थानीयका खेतको धान काटेर जनश्रमदान गरिएको माओवादी १९ नं. वडा अध्यक्ष शम्भुनाथ योगीले जानकारी दिए । उनले बुधवार बिहान फारामटोलका स्थानीय गंगा योगी र कृष्ण पुनको खेतको धान श्रमदान गरी काटिदिएको बताए ।

बिहानै माओवादी नेता कार्यकर्ताहरु खेतमा पुगेर धान काटिदिँदा स्थानीय खुशीले दङ्ग परेका थिए । स्थानीय कृष्ण पुनले विहानै माओवादी आएर खेतमा पाकेको धान काटिदिँदा आफू अत्यन्तै खुशी भएको बताए । “चाडवाड नजिकै आइसक्यो, खेतमा धान पाकेर पहेंलै भएको छ । श्रीमती विरामी भएर धेरै दिनदेखी भारतको दिल्लीमा उपचार गराएर भर्खरै फर्केका छौं । काम गर्ने कोही थिएनन । यस्तो बेलामा माओवादीहरु आएर पाकेको धान काटिदिँदा एकदमै खुशी भएको छु । माओवादीलाई धेरै धेरै धन्यवाद दिन्छु ।” उनले भने ।

माओवादी केन्द्र नेपालगञ्ज उपमहानर कमिटी अध्यक्ष रतन शाहीले माओवादी अभियानसँगै जनतासँग प्रत्यक्ष जोडिएका समस्या समेतको पहिचान गरी जनताका समस्या समाधान गर्दै जाने पार्टीको नीति अनुसार जनश्रमदान गरी धान काटिएको बताए । जहाँ जहाँ जनताका समस्या छन् त्यहाँ त्यहाँ अभियानसँगै माओवादी पुगेर समस्या समाधान गर्ने तर्फ लागिरहेको शाहीले बताए ।

माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’ले माओवादी अब सुध्रने कोशिस गरिरहेको बताए । “यो अभियानसँगै जनश्रमदानद्वारा जनताका काम पनि गर्ने साथसाथै नेता कार्यकर्ता पनि सुध्रिएर अघि बढ्ने हो, माओवादी अब ठूला कुरा गरेर होइन साँचिकै निमुखा गरिब जनताको सारथी बन्ने हो ।” संयोजक पाण्डेले अगाडी भने, “हरेक जनताका घरघरमा जान्छौं, दुख पीडा के छन रु बुझ्छौं, उनीहरुका पीडामा मलम लगाउने प्रयास गर्छौं । उनीहरुका हरेक काम अब हामीले गर्दिन्छौं ।”

धान काट्ने जनश्रमदानमा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’, सचिव डिल्ली वराल, सदस्य उषा विक, धर्मराज न्यौपने, नेपालगञ्ज नगर अध्यक्ष रतन शाही, उपाध्यक्ष वसन्त मल्ल, सचिव प्रेमबहादुर शाही लगायत जिल्ला, नगर तथा वडा कमिटिका दर्जनौं नेता कार्यकर्ता सहभागि रहेको १९ नम्बर वडा अध्यक्ष योगीले जानकारी दिए । माओवादी बाँकेले रुपान्तरण अभियान सँगसँगै जनश्रमदान अभियानलाई पनि निरन्तरता दिइने जनाएको छ ।

  • २५ आश्विन २०८०, बिहीबार १७:१८ प्रकाशित
  • Nabintech