१७ असाेज, नेपालगन्ज । नेपालगन्जमा हिजाेदेखि जारी गरीएकाे कर्फ्युका कारण जमुनाहा नाकामा सयाैं नेपाली अलपत्र परेका छन् । कर्फ्युका कारण नेपालगन्ज प्रवेश गर्ने चारै नाका बन्द भएपछि झण्डै ८ सय नेपाली नागरिकहरू नेपाल भारत सीमा नाका जमुनाहामा रोकिएका छन् ।
भारतको विभिन्न ठाउँबाट आएर नेपालगन्जको जमुनाहा नाकामा रोकिएका हुन् । तत्काल आफूहरूलाई गन्तव्यसम्म पठाउने व्यवस्था गर्न उनीहरूले माग गरेका छन् ।
नेपालगन्जको जमुनाहा नाकामा रोकिएर बसेका आठ सय बढी नेपाली नागरिकलाई नेपाल प्रहरीको गाडी र सार्वजनिक गाडीसमेत गरी ६ वटा गाडीको व्यवस्थापन गरी कर्फ्यु क्षेत्रको सीमा बाहिर राँझा चोकसम्म पुर्याउने व्यवस्था गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । राँझा चोकसम्म पुगेपछि सर्वसाधारण आ-आफ्नो गन्तव्य स्थलसम्म पुग्नका लागि सार्वजनिक गाडी पाउनेछन् ।
स्थानीय प्रशासनले पूर्वमा राप्ती नदी, पश्चिममा इन्द्रपुर गेट, उत्तरमा राँझाचोक र दक्षिणमा जमुनाहासम्म मङ्गलबार दिउँसो १ बजेदेखि अनिश्चयकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
नेपालगन्जका सडकमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन प्रहरी प्रशासनले अनुरोध गरेको छ । प्रहरीले फाट्टफुट्ट रूपमा बाहिर निस्किएकाहरुलाई सम्झाउँदै सहजीकरण गरेर पठाउने गरेको देखिन्छ ।
तस्बिर : बिकल भट्टराई
१७ आश्विन २०८०, बुधबार १०:१३ प्रकाशित