कोहलपुर-नेपालगन्ज १३२/३३ केभी सबस्टेसनको शिलान्यास

आगामी दुई वर्षभित्र देशका सबै ठाँउमा विद्युत बिस्तार गर्ने लक्ष्य

  • काँचुली खबर

१० असोज, कोहलपुर । कोहलपुर-नेपालगन्ज १३२ केभी प्रशारण लाईन तथा १३२/३३ केभि सबस्टेशनको शिलान्यास गरीएको छ । बाँकेको जानकी गाँउपलिका ५ बकसपुरमा निर्माण गरीने आयोजनाको बुधबार उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्ती बहादुर बस्नेतले शिलान्यास गरेका छन ।

बुधबार एक विशेष समारोहका बिच मन्त्री बस्नेतले विधिवत रुपमा प्रसारण लाइन तथा सबस्टेसनको उद्घाटन गरेका हुन । उद्घाटन समारोहमा बोल्दै मन्त्री बस्नेतले जिल्लामा देखिदै आएको बिद्युत समस्या समाधानकालागी सबस्टेसन निर्माण गर्न लागिएको बताए । उनले बकसपुरमा निर्माण हुने सवस्टेसन मार्फत नेपालगन्ज र आसपासका क्षेत्रमा नियमित रुपमा विद्युत सेवा उपलब्ध हुने विश्वास ब्यक्त गरे ।

आगामी २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी योजना अगाडी बढाईएको बताउँदै मन्त्री बस्नेतले विशेष गरी यहाँका उद्योगी ब्यवसायीले झेल्नुपरेको विद्युतको समस्यलाई लक्षित गर्दै आयोजना संचालन गरीएको बताए । उनले नेपालको सबै ठाउँमा पूर्ण विद्युतिकरण गर्नेगरी सरकारले तिव्र गतिमा काम गरिरहेको बताए । आगामी दुई वर्षपछि देशको सबै ठाउँमा विद्युत पुग्ने दाबी गर्दै मन्त्री बस्नेतले दुई वर्षभित्र हुम्लाको मन्खासम्म विद्युत पुगाएर देशको सबै भू-भागलाई पूर्ण विद्युतिकरण गर्ने लक्ष्यका साथ अहिले तिव्र गतिमा विभिन्न आयोजनाको निर्माण कार्य चलिरहेको जानकारी दिए ।

मन्त्री बस्नेतले आयोजनाको काम समयमै सम्पन्न गर्नका लागि सरोकारवाला निकायले खबरदारी गर्नुपर्ने बताए ।

आयोजनाबारे जानकारी गराउँदै कोहलपुर-नेपालगन्ज १३२ केभी प्रसारण लाइन आयोजनाका प्रमुख रन्जन गुरुङले २०० मेघावाट क्षमताको यो सबस्टेशन निर्माण भएर बिद्युत आपूर्ति सुरु भएपछि बाँकेका विद्युत सम्बन्धि सबै समस्या समाधान हुने बताए ।

उनले डेढ अर्बको लागतमा निर्माण गरिने सो आयोजना र सबस्टेशनको निर्माण कार्य दुई वर्षमा पूरा गर्नेगरी पावर चाइना सेपको नामक कम्पनीले ठेक्का पाएको बताए । प्रशारण लाइन तथा सबस्टेशनका लागि चार विगाह ७ कठ्ठा ८ धुर जग्गा उपलब्ध गराईएको गुरुङले बताए ।

सो अवसरमा जानकी गाउँपालिका ५ का वडा अध्यक्ष टीकाराम यादव, लुम्बिनी प्रदेश सभाका सदस्यहरु रत्न खत्री र बादशाह कुर्मी, नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले आयोजनाबाट हुने फाइदाका बारेमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा पुर्वमन्त्री सत्या पहाडी, उर्जा, जलश्रोत र सिंचाइँ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णा केसी, सिंचाइँ विभागका महानिर्देशक चुर्न ओलीलगायत बाँकेका प्रहरी प्रशासन प्रमुखको पनि सहभागिता रहेको थियो ।

  • १० आश्विन २०८०, बुधबार १७:२१ प्रकाशित
  • Nabintech