७ जेष्ठ २०८१, सोमबार
खजुरा क्यान्सर अस्पतालका ४१ वटा शय्या नि:शुल्क
  • काँचुली खबर

७ असाेज, नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका ४१ वटा शय्या बिरामीका लागि निःशुल्क गरिएको छ । त्यसका साथै अस्पतालमा उपचाररत विपन्न वर्गका क्यान्सर बिरामीलाई निःशुल्क खानाको पनि व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. नीरज भट्टराईले क्यान्सर पीडित बिरामीलाई निःशुल्क उपचार सेवा दिनका लागि अस्पतालका ४१ शय्या निःशुल्क र खानाको पनि निःशुल्क व्यवस्था गरिएको बताए । उनले अस्पतालका लागि सय शय्याको स्वीकृति प्राप्त भएपनि ठाउँ र जनशक्तिको अभावले हाल ५५ वटा शय्या मात्रै सञ्चालन गर्न सकिएको बताउँदै ती मध्ये ४ वटा आइसियु र १० वटा दिवा सेवाका शय्या बाहेक ४१ वटा शय्या निःशुल्क गरिएको जनाए ।

कार्यकारी निर्देशक डा. भट्टराईले अहिले अस्पतालका सबै शय्या बिरामीले भरिएको जनाउँदै केही बिरामीलाई बरण्डामा राखेर उपचार गरिएपनि धेरैलाई फर्काउनु परेको बताए । उनले निःशुल्क खानाका लागि अस्पतालका प्रशासन प्रमुख, लेखा प्रमुख, नर्सिङ प्रमुख र अस्पताल विकास समितिका प्रतिनिधि रहेको एक समिति गठन गरिएको र सो समितिले विपन्न भनेर सिफारिस गरेकालाई निःशुल्क खाना उपलब्ध गराइने बताए ।

अस्पतालमा उपचार गराउन आएका गम्भीर बिरामी र कुरुवाका लागि कुरुवा घर पनि केही दिन अघिबाट सञ्चालनमा आइसकेको अस्पतालले जनाएको छ । अस्पताल विकास समितिका अनुसार क्यान्सरको विशिष्टीकृत अस्पतालका रूपमा स्तरउन्नतिको चरणमा रहेको सो अस्पतालमा निकट भविष्यमा लिन्याक उपकरण सञ्चालनमा आउने र सो उपकरण सञ्चालनमा आएसँगै क्यान्सरका सबै उपचार सेवा खजुराबाटै दिन सकिने छ ।

लिन्याक मेसिन विकिरणका माध्यमबाट सेकाइ गरेर उपचार गर्ने मेसिन हो । उक्त मेसिनले पाठेघरको मुख, स्तन, नाक, कान घाटीलगायत शरीरका विभिन्न अङ्गहरूमा हुने क्यान्सरको उपचारका लागि बाहिरी सेकाइ गरेर उपचार गर्ने गरिन्छ । अहिले बिरामीहरू उक्त मेसिनको सेवा लिन भरतपुर र भक्तपुर क्यान्सर अस्पताल धाउन बाध्य छन् । भरतपुर र भक्तपुरमा पनि उक्त मेसिनको सेवा लिन एक महिनादेखि ४५ दिनसम्म पालो पर्खनुपर्ने बाध्यता छ ।

गाेरखापत्रबाट

  • ७ आश्विन २०८०, आईतवार १९:२१ प्रकाशित
  • Nabintech