४ असोज, नेपालगन्ज । संविधान दिवसका अवसरमा बाँके कारागारबाट २३ जना कैदी छुटेका छन्। जिल्ला कारागार बाँकेबाट संविधान दिवसका अवसरमा २३ जना कैदीको बाँकी कैद माफी मिनाहा भएको कारागार कार्यालय बाँकेका प्रमुख जेलर अर्जुनजङ्ग शाहले जानकारी दिए ।
जिल्ला कारागार बाँकेमा रहेका १६ जना पुरुष कैदी र जयन्दू वालसुधार गृहमा रहेका सात जना नाबालक गरेर बाँके जिल्लाबाट कूल २३ जना कैदीको बाँकी कैद माफी मिनाहा भएको जेलर शाहले जानकारी दिए ।
कैद मिनाहा भएका कैदीहरु चोरी, कर्तव्य ज्यान तथा सवारी ज्यानसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेको उनले बताए ।
जिल्ला कारागार बाँकेमा तीन सय ५० जना कैदी अट्ने क्षमता भए पनि हाल नौ सय ४६ जना कैदी रहेको जेलर शाहले बताए । शाहका अनुसार कारागार बाँकेबाट १६ जना कैदीको बाँकी कैद माफी मिनाहा भएसँगै अब नौ सय ३० जना कैदी कारागारमा छन्।
सरकारले संविधान दिवसको अबसरमा यस वर्ष छ सय ७० जना कैदीको बाँकी कैद माफी मिनाहा गरेको छ ।
४ आश्विन २०८०, बिहीबार १२:५९ प्रकाशित