बाँकेमा माओवादीको अभियान : सहिद तथा बेपत्ता परिवार भेट्दै नेताहरु
  • काँचुली खबर

२९ भदौ, नेपालगन्ज । नेकपा माओवादी केन्द्रले ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने मूल नाराका साथ सुरु गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत विभिन्न कार्यक्रम बाँकेमा पनि चलिरहेको छ ।

माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्रप्रसाद पाण्डेका अनुसार भदौ १६ गतेदेखि जिल्लाका ८१ वटै वडाबाट सुरु गरिएको सो अभियान अन्तर्गत वडाहरूमा विभिन्न कार्यक्रमहरू भइरहेका छन् । उनले सो अभियान अन्तर्गत अहिले सहिद र बेपत्ता परिवारका घरघरमा पुगेर भेट्ने तथा अभियानमा जोड्ने कार्य तीव्र गतिमा चलिरहेको जनाउँदै सहिद र बेपत्ता परिवारसँग अन्तरक्रिया भइरहेको बताए ।

संयोजक पाण्डेका अनुसार जिल्लाका विभिन्न स्थानमा रहेका सहिद परिवार र बेपत्ताका परिवारको सुखदुख सुन्ने र उनीहरूको समस्या समाधान गरेर अगाडी बढ्ने कार्य अहिले भइरहेको छ । माओवादी केन्द्र बाँकेका सचिव डिल्ली बरालले विभिन्न कारणले विगतमा सहिद र बेपत्ता परिवारसँग नियमित जोड्न नसकिएकोमा अहिले उनीहरुको घरघरमा पुग्दा उनीहरूले भव्य स्वागत गरेर दुखसुख बाँडिरहेको बताए ।

बेपत्ता परिवारले बेपत्ता भएकाहरूको बारेमा अन्तिम जानकारी गराउनु पर्ने माग पनि गरेका छन् । सोही प्रकारले अहिले तीजको समय रहेकोले माओवादी निकट महिला सङ्गठनहरू र जनसांस्कृतिक महासङ्घले अभियान अन्तर्गत नै वडादेखि पालिकासम्मको सम्मेलन र तीज मिलन कार्यक्रमहरू गरिरहेका छन् ।

माओवादी केन्द्र बाँकेका संयोजक पाण्डेले रूपान्तरण अभियानकै क्रममा हालसम्म माओवादी छोडेर विभिन्न पार्टीमा गएका तथा अन्य गरेर २०० भन्दा बढीले माओवादीमा प्रवेश गरेको बताए । उनले अहिले टोल-टोल र वडा-वडामा विभिन्न जनवर्गिय सङ्गठनको प्रशिक्षण तथा भेलाहरू भइरहेको बताए ।

रूपान्तरण अभियानका लागि बाँकेको इन्चार्ज बनाएर पठाइएका लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुल बहादुर केसीले रूपान्तरण अभियान बाँकेमा निकै उत्साहजनक तरिकाले चलिरहेको जनाउँदै यो अभियानले पार्टीलाई धेरै बलियो बनाउने देखिएको बताए ।

यसअघि अभियान सफल पार्नका लागि जिल्लाको विस्तारित बैठक, पालिकाका बैठकहरू तथा विभिन्न जनवर्गिय सङ्गठनका बैठक र भेलाहरू आयोजना गरेर प्रशिक्षण दिने कार्य पुरा गरिसकिएको माओवादी केन्द्र बाँकेले जनाएको छ । अभियानको नेतृत्व गर्नका लागि माओवादी केन्द्रले बाँकेको कोहलपुरमा केन्द्रीय सदस्य दामा शर्मा, नेपालगन्जमा लुम्बिनीका पूर्वमुख्यमन्त्री कुल बहादुर केसी र जिल्ला संयोजक नरेन्द्र पाण्डे, बैजनाथमा केन्द्रीय सदस्य सन्त कुमार चौधरी, राप्तीसोनारीमा प्रदेश उपाध्यक्ष दुर्गा चौधरी र नरैनापुरमा सल्लाहकार ओम प्रकाश सुवेदी (चन्द्रकान्ता) लगायतलाई खटाएको छ ।

  • २९ भाद्र २०८०, शुक्रबार १६:०० प्रकाशित
  • Nabintech