७ जेष्ठ २०८१, सोमबार
आयुर्वेद तथा प्राकृतिक उपचार पद्धतीप्रति बिरामिकाे आकर्षण बढ्दै
  • काँचुली खबर

२५ भदाै, काेहलपुर । बाँके जिल्लामा आयुर्वेद तथा प्राकृतिक उपचार पद्धतिप्रति बिरामीको आकर्षण बढ्दै गएको पाइएको छ। कोहलपुर नगरपालिका-११, बगियामा रहेको आयुर्वेद औषधालयमा उपचार गराउने बिरामीको सङ्ख्या दिनदिनै बढ्दै गएकाले आयुर्वेद तथा प्राकृतिक उपचार प्रद्धतिप्रति बिरामीको आकर्षण बढेको पाइएको हो। कोहलपुर आयुर्वेद औषधालयका प्रमुख उदीप श्रेष्ठले जिल्लाका विभिन्न पालिकाबाट दैनिक ५० देखि १०० जना बिरामी उपचारका लागि आउन थालेको बताए ।

उनले नेपाल र भारतका ठुला ठुला सहरमा रहेका विभिन्न अस्पतालमा उपचार गराउँदा पनि रोग निको नभएपछि यहाँ आएर उपचार गराउँदा निको हुनेको सङ्ख्या थपिँदै गएपछि बिरामीको चाप बढ्न थालेको बताए । सो अस्पतालमा आयुर्वेद सेवा लिन आउनेमध्ये धेरै जसो पेट र नसासम्बन्धी समस्या भएका बिरामी हुने गरेको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार रुघाखोकी, नसा, पायल्स फिस्टुलाका रोगीहरू पनि उपचारका लागि धेरै आउने गरेका छन्। सो आयुर्वेद औषधालयबाट २३ प्रकारको औषधि निःशुल्क पाइने गरेको छ। अस्पताल प्रमुख शर्माले ओपिडी सेवा, बच्चा जन्मेको पाँच महिनासम्मको बच्चालाई सहयोग हुने गरी स्तनपान सेवा कार्यक्रम, ज्येष्ठ नागरिकका लागि स्वास्थ्य प्रवर्धन कार्यक्रम त्यस अन्तर्गत रसायन औषधी इम्युनिटी पावर बढाउने  कार्यक्रम, बाथको समस्या भएकाको लागि पन्चकोष कार्यक्रम र हातखुट्टा दुख्ने नसासम्बन्धी समस्या भएका बाथरोगीका लागि दुई प्रकारको सेवा अस्पतालले दिइरहेको बताए ।

नेपालगन्ज-११, इदगाह रोडका नवीन पाठकले नसासम्बन्धी समस्याले गर्दा लामो समयदेखि पीडित रहेको जनाउँदै कोहलपुरमा गएर आयुर्वेद उपचार गराएपछि धेरै राहत भएको बताए ।

सोही प्रकारले कोहलपुर न्युरोडका नरेश थापाले हातखुट्टा दुख्ने समस्या धेरै ठाउँमा उपचार गर्दा पनि निको नहुँदा आयुर्वेद अस्पतालबाट उपचार गराउँदा गरेपछि धेरै आराम मिलेको बताए । कोहलपुर आयुर्वेद औषधालयले प्रचारप्रसारका लागि जिल्लाका विभिन्न वडामा स्वास्थ्य शिविरको आयोजना गरेर यो उपचार पद्धतिबारे जानकारी गराउँदै आएको छ। बिरामीको चाप वृद्धि हुन थालेपछि जनशक्तिको अभाव सुरु भएको जनाउँदै अस्पतालले सोही कारणले उपचारमा समस्या हुन थालेको जनाएको छ।

  • २५ भाद्र २०८०, सोमबार १५:०२ प्रकाशित
  • Nabintech