२४ मंसिर २०७९, शनिबार
परिवार र समाजद्वारा नपत्याइएकी झमक
  • काँचुली खबर

झमक घिमिरेको नाम नेपाली साहित्यको क्षेत्रमा निकै आदरका साथ लिइन्छ। उनको आत्मपरक निबन्धसंग्रह ‘जीवन काँडा कि फूल’ले २०६७ सालमा मदन पुरस्कार प्राप्त गरेपछि त झमकको चर्चा झनै चुलियो। प्रतिमस्तिष्क रोगबाट पीडित घिमिरे जन्मेदेखि नै हात, गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने अवस्था छन्। उनले सुन्न र बुझ्न सक्ने क्षमतालाई तिखार्दै, खुट्टाका तीन औँलाको सहयोगले धेरै रचना लेखिसकेकी छन्। धेरै पुस्तकसमेत प्रकाशन गरिसकेकी छन्। औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले घरमा भाइबहिनीले पढे लेखेको देखेर र सुनेर आफ्नो क्षमता विकास गरेकी हुन्। पारिवारिक स्नेह र सहयोग नपाएकी घिमिरेले बाल्यकालमा धेरै कठिनाइहरू भोग्नुपरेको थियो। २०५३ सालदेखि लेखनमा रुचि राखेकी झमकले साहित्य सिर्जनामा आफ्ना कृतिहरूमा आफ्नो संघर्षमय जीवनको अनुभव, आत्मानुभूति व्यक्त गरेकी छन्। उनी समसामयिक लेखहरू लेख्ने गर्छिन्। उनका लेखहरू प्रायः छोटा, राम्रा र सान्दर्भिक हुन्छन्। जुनसुकै विषयमा पनि उत्सुकता राख्नुलाई आफ्नो खुबी मान्ने घिमिरे जीवनलाई ऊर्जा दिने किताबहरू पढ्न रुचाउँछिन् भने जीवनप्रति आशावादी लेखहरू मनपराउँछिन्।

नेपाली नारीको उत्थानका लागि हाम्रा समाजमा रहेको सामाजिक, आर्थिक, राजनीतिक, कानुनी र धार्मिक सबै खालका विभेदलाई ध्वस्तै पार्नुपर्छ भन्ने उनको भनाइ छ। झमकको बाल्यकाल २०३७ असार २१ गते शुक्रबार धनकुटाको कचिडेमा बुबा कृष्णबहादुर घिमिरे र आमा आशादेवी घिमिरेकी जेठी छोरीको रूपमा जन्मिएकी झमकको बाल्यकाल अत्यन्तै कष्टकर थियो। लुला हात–गोडा र विकलांग शरीर लिएर ‘कति छाक भोकभोकै बस्ने परिवार’मा जन्मिएकी झमकलाई जन्मनेवित्तिकै आफन्तजनले ‘मुर्कुट्टा’ भने। दशैँमा टीका लाएर उनलाई ‘चाँडै मरेस्’ भन्ने ‘आशिष’ दिए। उनले कुनै पाठशाला र गुरुबाट सिक्न पाइनन्। सिक्न खोज्दा ‘तैँले सिकेर के गर्छेस्रु’ भने। गोडाको बूढी औँलाले छर्छरी रगत निकाल्दै भुइँमा कपुरी क लेख्दा ‘भुइँ भत्काई’ भनेर गाली गरे। गोलले लेख्दा ‘ऋण लाग्छ’ भनेर गाली खाइन्। अरू बालबालिकाहरू पढेनन् भने कुटाइ खान्छन, उनले पढी भनेर कुटाइ खान्थिन्। कापी, कलम माग्दा कुटाइ खाइन्। उनको कहिलेकाहीँ ओठमा उम्रिएको हाँसो पनि ‘धेरै नहाँस’ भन्ने आदेशमा बिलाउँथ्यो। धामीझाँक्रीले जोखाना हेर्दा सन्तान पिर्छे भने। मान्छेले उनलाई ‘अलच्छिनी’ भनेर बाटो छलेर हिँड्ने गर्थे। पाँच वर्षकी हुँदा भात खुवाइदिने उनकी हजुरआमा बितेपछि गोडाका औँलाले मुछेर भात खान थालिन्। आफैँले दिसा धुने वा पुछ्ने प्रयत्नमा दिसामा लटपटिन्थिन्। भोकै, प्यासै, नांगै, अधिकांश एकाकीपनमा हुर्किसकेपछि नौ–दश वर्षको हुँदा घर बनाउन आएका सिकर्मी, डकर्मीबाट फाटेको लुगाबाट देखिने गुप्तांग देखाउँदै कुरीकुरी भनेर गरेको यौन शोषण सहने जस्ता अनेक आपतविपत सहँदै उनी हुर्किन्। झमकका कृतिहरू ‘संकल्प’, ‘सम्झना’, ‘बाछिटाहरू’, ‘मान्छेभित्रको योद्धा’, ‘जीवन काँडा कि फूल’ जस्ता उनका १३ पुस्तक प्रकाशन भइसकेका छन्, जसमध्ये आत्मपरक निबन्धसंग्रह ‘जीवन काँडा कि फूल’मा उनले आफ्नो भोगाइ, आफ्नो बाल्यकालमा स्वअध्ययन गर्दा पार गरेका कठिनाइहरू व्यक्त गरेकी छन्। उनले यही कृतिमार्फत् दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरिसकेकी छन्, जसमध्ये प्रबल गोर्खा दक्षिण बाहु चौथा र मदन पुरस्कार पनि पर्छन्।

मदन पुरस्कार पाउने घिमिरे पारिजातपछि दोस्रो महिला हुन्। उनको ‘जीवन काँडा कि फूल’ कृति अंग्रेजी, चिनियाँ, आसामी, हिन्दी, जर्मनलगायत विभिन्न भाषामा अनुवाद भइसकेको झमक घिमिरे साहित्य कला प्रतिष्ठानका सचिव जनार्दन घिमिरेले बताए। उनी साहित्यसँगै समसामयिक विषयमा विभिन्न पत्रपत्रिकामा लेखहरू लेख्नमा पनि सक्रिय छन्। कान्तिपुर दैनिक र ब्लास्ट टाइम्स दैनिक पत्रिकामा उनका नियमित स्तम्भहरू छापिने गरेका छन्। उनको संघर्ष, आँट, अठोट, सिक्ने र गर्ने क्षमता प्रत्येक मानिसका लागि प्रेरक बनेको छ। उनले जीवन र समाजलाई नयाँ उचाइमा उठाउन गरेको प्रयत्न र संघर्षले अपांगता भएका व्यक्तिलाई प्रेरणा दिएको छ र शारीरिक रूपमा सक्षम भएकामा गर्व मात्र गर्नेलाई चुनौती पनि। कति काँतर बन्छौ हाम्रा गाउँका शेक्शपियर चेलीहरूरु तिम्रै धरतीमै मारिँदै छन् अकाल हाम्रा कोमल चेलीहरू सामन्त र स्वतन्त्रता त खोक्रो खाली नारा हो अब उठ चेलीहरू। यो कवितामार्फत् उनले पिछडिएका नारीहरूलाई आफैँबाट परिवर्तन सुरु गर्नुपर्ने सन्देश दिएकी छन्। उनले धेरै कविताहरू लेखेकी छन्, जसमध्ये संकल्प, आफ्नै चिता अग्नि शिखातिर, मान्छेभित्रका योद्धाहरू, अवसानपछिको आगमन, क्वाँटीसंग्रह आदि रहेका छन्। उनले धेरै लघुकथा, कविता, दैनिक डायरी, गीत, निबन्ध आदि लेखेकी छन्। अवार्ड तथा पुरस्कार झमक घिमिरेले कविताराम बाल साहित्य प्रतिभा पुरस्कार, २०५५, अस्वीकृत विचार साहित्य पुरस्कार, २०५६, मदन पुरस्कार, २०६७, लैनसिंह वाङ्देल पुरस्कार, २०७२ लगायत दर्जनौँ पुरस्कार एवं सम्मान प्राप्त गरेकी छन् भने मध्यपश्चिम विश्वविद्यालयले साहित्यकार झमकलाई मानार्थ विद्यावारिधि उपाधिबाट सम्मान गरेको छ।

यस्तो थियो झमकको संघर्ष
शारीरिक अक्षमतासँगै जन्म हुनुले उनको पढ्न र लेख्न सिक्ने चाहलाई रोक्न सकेन। उनले उनकी बहिनीबाट सुनेकी थिइन् पढेको र शब्द उच्चारण गरेको। त्यसैको आधारमा उनले केही सिक्न खोजिन्। उनका बुबाले उनकी बहिनीको हात समातेर अक्षर लेख्न सिकाउँथे तर उनले आफैँ सिकिन्। उनले सिक्ने क्रममा पेन्सिल उनको ‘ओभर ड्रप’ हुने गर्थ्यो। ‘जीवन काँडा कि फूल’ले उनको बच्चादेखि उनको जीवन र उनको संघर्षको वर्णन गर्छ। यो उनको बच्चाकालका प्रारम्भिक सम्झनाहरूबाट सुरु हुन्छ। उनले आफ्नो परिवारबाट प्राप्त गरेको हेरचाह र समर्थनले कडा तरिकाले समाजलाई उनको व्यवहारको विपरीत विरोध गर्‍यो। एक निर्दोष बच्चाको भावनामा समाजप्रतिको घृणा बढ्दै गएको थियो त्यो बेला। शारीरिक रूपमा असामान्य रूपमा जन्म हुनेले समाजबाट भोगेका भेदभावको क्रोध पनि यस पुस्तकमा समेटिएको छ। झमक घिमिरेलाई हेलेन केलरको उपमा पनि दिने गरिएको छ। उनीहरू दुवै एउटै रोग मस्तिष्क पक्षघातबाट पीडित हुन्। तर केलरको विपरीत घिमिरेको जन्म गरिब परिवारमा भएको थियो। शारीरिक रूपमा अक्षम भएकाले पढ्न र लेख्नका लागि उनले आफ्नो परिवारबाट प्रोत्साहन वा समर्थन पाइनन्।

तथापि, उनले आफैँलाई महत्त्वाकांक्षी बनाइरहिन् र सक्षम लेखकको रूपमा प्रमाणित गरिन्। यद्यपि, उनको जीवन सधैँ संघर्ष र कठिनाइबाट अघि बढेको थियो। यसले कहिलेकाहीँ उनलाई सिक्ने चाहनाबाट पर पुर्‍याउन पनि खोज्यो। उनको दृढता र बलियो इच्छाशक्तिले गर्दा घिमिरे आज उदाहरण बनेकी छन्। ‘जीवन काँडा कि फूल’ एक प्रेरणादायी पुस्तक हो, जसले धेरै कुरा सिकाउँछ। यदि कसैले दृढतापूर्वक कडा परिश्रम गरिरहेको छ भने केही पनि असंभव छैन भन्ने पुस्तकले सन्देश दिएको छ। वास्तविकता पनि त्यही हो। २०६६÷०६७ को सबैभन्दा लोकप्रिय पुस्तक पनि हो यो। ‘जीवन काँडा कि फूल’ फिल्ममा झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’माथि बनेको फिल्मको च्यारिटी शो राजधानीमा केही महिना अगाडि गरिएको छ भने धनकुटामा यही जुलाई २५ तारिखसम्ममा च्यारिटी शो गर्ने तयारी भइरहेको छ। विनोद विष्टले निर्माण र निर्देशन गरेको फिल्ममा मस्तिष्क पक्षघातबाट पीडित साहित्यकार घिमिरेको जीवनी समेटिएको छ। फिल्ममा विष्ट ब्रदर्स फिल्मस् प्रा।लि। काठमाडौंको ब्यानरमा झमक घिमिरे साहित्य कला प्रतिष्ठानको प्रस्तुति रहेको छ। फिल्ममा रोजिता बुद्धाचार्य, किसन सुनुवार, मेनुका प्रधान, उमादेवी गिरी, सरिता घिमिरेलगायतको अभिनय रहेको छ। यस फिल्मको गीत प्रकाश सिवाकोटी र झमक घिमिरे आफैँले लेखेका हुन्। कथा मुक्ति उपाध्याय र झमक घिमिरेले लेखेका हुन्।

फिल्मको करिब ९८ प्रतिशत छायांकन झमकको जन्मथलो धनकुटा नगरपालिका-३ कचिडेमा गरिएको छ। केही दृश्यहरू धरान र काठमाडौंमा छायांकन गरिएको छ। फिल्ममा झमकको संघर्षका दिनदेखि मदन पुरस्कार पाएको दिनसम्मका विषयलाई समेटिएको छ। झमक घिमिरेले सामाजिक विभेदको अन्त्यका लागि चलचित्रको पर्दाबाट चेतना फैलिने अपेक्षा गरेको बताइन्। झमक घिमिरे साहित्य कला प्रतिष्ठान करिब चार वर्ष अगाडि साहित्यकार घिमिरेको कलालाई प्रचार तथा प्रवद्र्धन गर्ने उद्देश्यले धनकुटामा स्थापित झमक घिमिरे साहित्य कला प्रतिष्ठान नेपालले गत असार २१ गते घिमिरेको ३८औँ जन्मदिनको अवसरमा धनकुटामा चौथो साधारणसभा सम्पन्न गरेको छ। धनकुटालाई झमकको नामबाट साहित्यको पवित्र गन्तव्य र साहित्य कलाका सर्जकहरूको पर्यटन केन्द्र बनाउन प्रतिष्ठान स्थापना भएको प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईंले बताए। ‘झमकका योगदानहरू गृहनगर धनकुटामा मात्रै सीमित छैनन्, नेपाली साहित्य र विश्व साहित्यकै सम्पत्ति बन्दै छन्’, गुरागाईंले भने, ‘तर यो विशिष्ट प्रतिभा र बौद्धिक सम्पत्तिमाथि पहिलो अधिकार स्वतः धनकुटाको रहन्छ। त्यस कारण प्रतिष्ठानले यो विशिष्ट प्रतिभा र व्यक्तित्व चिनेर नै आफ्नो कर्तव्य पूरा गर्ने प्रयत्न गर्दै आएको छ।’ झमक घिमिरे साहित्य कला प्रतिष्ठान नेपालले धनकुटा नगर प्रवेशका ठाउँठाउँमा स्वागत बोर्ड राखेको छ। साहित्यकार घिमिरेको जन्मोत्सवको अवसरमा हरेक तीन वर्षमा साहित्य महोत्सवको आयोजना गर्ने र हरेक पाँच वर्षमा ‘भिजिट झमक गृह नगर धनकुटा’ साहित्य पर्यटन महोत्सवको आयोजनाको तयारी भइरहेको गुरागाईंले बताए। प्रतिष्ठानले नेपाली साहित्य कलाको उन्नयनका लागि झमक घिमिरे साहित्य प्रतिभा पुरस्कारका लागि एक अक्षय कोष स्थापनाको काम पनि अघि बढाएको छ। यसका लागि खगेश्वर गौतमले ५१ हजार १११ रुपैयाँ र द्रोणप्रसाद गुरागाईंले ११ हजार १११ रुपैयाँ सहयोग गरिसकेका छन्। साहित्यकार घिमिरेलाई बाल्यकालमा जसले जेजे भने पनि हाल आएर कतिपयले देवीको रूप भन्न थालेको प्रतिष्ठानका सचिव घिमिरेले बताए।

  • २ श्रावण २०७५, बुधबार २०:५४ प्रकाशित
  • Nabintech