२४ भदौ, कोहलपुर । आत्महत्या जस्तो संवेदनशिल विषयमा सबै सचेत हुनुपर्ने एक कार्यक्रमका बक्ताहरुले सुझाव दिएका छन । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा कोहलपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रोफेसर डा. मोहन वेल्वासेले आत्महत्या आफैमा जटिल विषय भएकाले यसको रोकथामकालागी समाजका सबै पक्षहरु सचेत हुनुपर्ने बताएका हुन ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका वरिष्ठ मानसिक रोग विशेषज्ञ समेत रहेका डा. वेल्वासेले पछिल्लो समय विश्वभर आत्महत्या गर्ने क्रम बढ्दै गएको बताए । पछिल्लो समय सामाजिक तथा पारिवारीक कारणले गर्दा समेत यस्ता घटनाहरु बढ्दै गएको तर्फ ईगिंत गर्दै डा. वेल्वासेले समयमै समस्याको पहिचान भए आत्महत्याको दर रोक्न सकिने बताए ।
नेपालमा हरेक १ लाखमध्ये २० जनाले आत्महत्या गर्ने तत्थ्याङ्क सार्वजनिक गर्दै डा. वेल्वासेले मनोपरामर्श मार्फत ब्यक्तिको समस्या पहिचान गरी उसलाई नयाँ जिवन दिन सकिने बताए । राज्यले आत्महत्या रोकथामकालागि गर्नुपर्ने पहल प्रयाप्त नभएको जिकिर गर्दै डा. वेल्वासेले आत्महत्या जस्तो संवेदनशिल विषयमा स्वय परिवार र समाज थप जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएस्पी सुन्दर तिवारीले नेपालमा आत्महत्याका घटना बढ्दै गएको बताए । उनले संचार क्षेत्रले आत्महत्या जस्तो संवेदनशिल विषयलाई उठान गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताउँदै हरेक अभिभावकले आफ्ना बालबालिकाको गतिविधिलाई शुक्ष्म रुपमा अध्ययन गर्नुपर्ने बताए ।
पछिल्लो तथ्याङ्क अनुसार बाँकेमा २९ जनाले आत्महत्या गरेको तिवारीले बताए । तिवारीका अनुसार आर्थिक वर्ष २०७९/८० मा देशभरबाट छ हजार ९९३ जनाले आत्महत्या गरेका छन्। यो सङ्ख्या अघिल्लो आर्थिक वर्ष भन्दा २.३९ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७८/७९ मा छ हजार ८३० जनाले आत्महत्या गरेका थिए।
कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यको सभापत्त्विमा संचालन गरीएको कार्यक्रममा स्वास्थ्यकर्मी, बिभिन्न क्षेत्रका अगुवा, प्रहरी तथा संचारकर्मीको उपस्थिती रहेको थियो । “आशा जगाऔँ, जीवन बचाऔँ” भन्ने आयोजना गरीएको कार्यक्रममा नाराका साथ आइतबार देशभर विभिन्न कार्यक्रम गरेर विश्व आत्महत्या रोकथाम दिवस मनाईएको छ ।
२४ भाद्र २०८०, आईतवार १७:२६ प्रकाशित