जनता माविमा पुन: तालाबन्दी
  • काँचुली खबर

२१ भदौ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ स्थित जनता माध्यामिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका छन । जनता माबिमा लामो समय देखि विद्यालय ब्यवस्थापन समिति गठन हुन नसकेको, पुरानो समितिको म्याद सकिएकोले काम गर्न समेत नदिएको र समिति गठन गर्न प्रधानाध्यापकले ढिलासुस्ती गरेको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनको इकाई कमिटीले तालाबन्दी गरेको जनाएको छ ।

भाद्र ११ गते ब्यवस्थापन समिति गठन गर्न अभिभावक भेलाको आयोजना समेत भएको थियो र भेलामा विद्यालयमा भएका विभिन्न खाले भ्रष्टाचार, विकृति तथा अनियमितताबारे कुरा उठान भएपछि बोलाईएको भेला समेत प्रधानाध्यापक चन्द बहादुर खत्रीले बैधानिक नभएको आरोप लगाएका थिए । प्रधानाध्यापक माथि थुप्रै प्रकारका भ्रष्टाचारका आरोपहरु लागेपछि भेलामा उपस्थित अभिभावकहरुले प्रअको कार्यकक्षमा भाद्र ११ गते तालाबन्दि समेत गरेका थिए ।

भाद्र १३ गते पुन: विद्यालयका अभिभावक, वडा अध्यक्ष, बुद्धिजीवी लगायतको भेला सम्पन्न भई विद्यालयमा उठेका विषयमा छानबिन गर्न बिरेन्द्र बहादुर शाहिको संयोजकत्वमा छानबिन समिति गठन गरेको र प्रअ चन्द बहादुर खत्रीलाई तीन दिने अल्टिमेटम दिई लिखित स्पस्टिकरण समेत मागेको थियो ।

उक्त भेलालाई समेत ललकार्दै प्रधानाध्यापक सर्वदलीय निर्णयमा बिरोध जनाउदै भेलाबाट भागेका थिए । विद्यालयमा उठेका तमाम विसंगतिलाई स्पष्ट नपारी गैरजिम्मेवार तरिकाबाट भागेको आरोप लगाउँदै भाद्र १७ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको भातृ संगठन अखिल क्रान्तिकारी बाँके जिल्ला संयोजकले एक विज्ञप्ति जारी गर्दै विद्यालयमा तालाबन्दी गरेका थिए ।

उक्त ताला नगर प्रहरीले केही स्थानिय राजनितीक दलका प्रतिनिधिको रोवहरमा फोडेपछि उक्त कार्यको अखिल क्रान्तिकारी बाँकेले घोर आपत्ति जनाएको थियो । नगरबाट खटिएका सिभिल प्रहरी लगायत केही ब्यक्तिहरुले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई साथमा लिएर ताला फुटाउने काम गरेपछि आज पुन: विद्यालयमाअध्ययनरत बिद्यार्थीहरुको सक्रियतामा प्रअको कार्यकक्ष तालाबन्दी गरेका हुन ।

विद्यालयको समस्या यथास्थितीमा रहेको भन्दै यथाशिघ्र निकास निकाल्नुपर्ने विद्यार्थीहरुले आवाज उठाएका छन ।

  • २१ भाद्र २०८०, बिहीबार १७:०४ प्रकाशित
  • Nabintech