२० बैशाख २०८१, बिहीबार
सिँचाइ योजनाका कारण सौरी गाँउका कृषक खुसी
  • काँचुली खबर

१६ भदौ, कोहलपुर । बाँकेको राप्तीसोनारी-१ कुसुमस्थित सौरी गाउँमा नमुना सौरी डिपट्युवेल सिँचाइ योजना सम्पन्न भएपछि खेतीका लागि सो गाउँका बासिन्दाले आकाशे पानीको भर पर्नुपर्ने बाध्यता अन्त भएको छ । पानी पाउने भएपछि कृषक खुसी भएका छन् ।

युवा समाजसेवी अर्जुन ओलीको विशेष पहलमा सो डिपट्युवेल सिँचाइ योजनाको काम सम्पन्न भएपछि किसानको वर्षौदेखिको सपना पूरा भएको स्थानीयले जनाएका छन् ।

स्थानीय किसान टीकाराम बुढाथोकीले गाउँमा डिपट्युवेल सिँचाइ योजना सम्पन्न भई पानी आएपछि अब १२ महिना खेती गर्न सकिने बताए । उनले सिँचाइ सुविधा नहुँदा यसअघि गाउँमा हिउँद र वर्षायाममा मात्र खेती गरिने हुँदा अब सधैँ गर्न सकिने बताए ।

सोही प्रकारले अर्का स्थानीय किसान जीवन ओलीले सिँचाइको वैकल्पिक व्यवस्था नहुँदा सधैँ आकाशे पानीको भर पर्नु नपर्ने बताए । उनले भने, ‘गाउँमा यसअघि सिँचाइ सुविधा थिएन, सिँचाइ सुविधा नहुँदा पनि पुर्खाहरूले धेरै दुःख कष्ट गरी खेती किसानीको काम गर्नुभयो, अब गाउँमा खेती किसानी गर्नलाई सहज भएको छ ।’

भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नेपालगन्जले ४७ लाख ५० हजार रुपियाँको लागतमा सो डिपट्युवेल योजना निर्माण गरेको हो । डिपट्युवेलसँगै सिँचाइका लागि पाइपलाइन, २५ केभिए क्षमताको बिद्युत ट्रान्सफर्मर, च्यामबर निर्माण गरिएको कार्यालयले जनाएको छ ।

डिपट्युवेल निर्माण गर्न कार्यालयले ठेक्का सम्झौता गरे पनि सहजीकरणका लागि स्थानीय बासिन्दाको सहभागितामा उपभोक्ता समिति गठन गरिएको थियो । डिपट्युवेल खन्न सुशील कन्स्ट्रक्सन कम्पनी र सिँचाइ प्रणाली निर्माण गर्न विकास निर्माण सेवाले ठेक्का सम्झौता गरेको कार्यालयले जनाएको छ ।

डिपट्युवेलबाट करिब ४० बिघा जमिनमा ढुक्कसँग सिँचाइ गर्न सकिने कार्यालयका प्रमुख किरण चौधरीले बताए । उनले थपे, ‘यस डिपट्युवेलबाट ४० बिघा जमिनलाई आरामसँग सिँचाइ गर्न सकिन्छ, सिँचाइको वैकल्पिक व्यवस्था नभएको ठाउँमा यस्ता डिपट्युवेल धेरै प्रभावकारी हुन्छन् ।’

कार्यालयले आर्थिक वर्ष २०७९\८० मा नमुना सौरी डिपट्युवेल योजनासहित डुडुवामा पेरानी डिपट्युवेल योजना, एग्रिकल्चर डिपट्युवेल र महाकाली डिपट्युवेल योजना र खजुरामा किसान कल्याण डिपट्युवेल योजना तथा हरियाली डिपट्युवेल योजना निर्माण सम्पन्न गरेको जनाएको छ ।

कार्यालयका अनुसार बाँके र बर्दियामा कुल १३ वटा डिपट्युवेल खन्न २ करोड ५७ लाख ६२ हजार ५३६ रुपियाँमा सम्झौता भएको थियो ।
-गोरखापत्रबाट

  • १६ भाद्र २०८०, शनिबार १५:४८ प्रकाशित
  • Nabintech