१५ भदाै, नेपालगन्ज । बरिष्ठ बालरोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन भएको छ । उपचारका क्रममा उनको वेष्टर्न अस्पताल नेपालगन्जमा आज दिउँसो २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
बुवा काशिप्रसाद प्रधान र आमा तुलसी प्रधानको कोखबाट सल्यान खलंगामा डा. प्रधानको वि.स.२००२ सालमा जन्मिएका थिए ।
वि।स २०३८ सालमा भेरी अस्पतालमा मेडिकल अधिकृतको रुपमा जागिर सुरु गरेका डा. प्रधानले २४ वर्षसम्म भेरीमै बसेर सेवा दिए । सेवा निवृत्त भएपछि भने उनले नेपालगन्जमा त्रिपुरा बाल अस्पताल संचालन गरेर बालबालिकाको उपचार सेवा दिँदै आएका थिए । बरिष्ठ बालरोग बिशेषज्ञ डा. प्रधानले यसक्षेत्रका लाखौं बालबालिकाको उपचार गरेर प्राण दिएका छन ।
स्वास्थ्यमा समस्या देखिएपछि डा. प्रधान गएको भदौ ४ गतेदेखि नेपालगन्ज स्थित वेष्टर्न अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उनी पहिलेदेखिनै सुगरको समस्याले ग्रसित थिए । उपचारमा संग्लग्न वरिष्ठ फिजिसियन डा. खगेन्द्र जंग शाहका अनुसार डा. प्रधानले फोक्सोको टिबीसँगै कलेजो र किड्नीको समस्या देखिएको थियो ।
पछिल्लो समय श्वास प्रश्वासमा समेत समस्या देखिएको डा. शाहले जानकारी दिए । यस क्षेत्रका चिकित्सकहरुका अभिभावक समेत रहेका डा. प्रधानको निधनले स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै चिकित्सकहरुले गहिरो दुःख प्रकट गरेका छन् ।
डा. प्रधानको पार्थिव शरिरलाई अत्यष्टिका लागि काठमाडौं लाने तयारी भईरहको पारिवारीक श्रोतले जानकारी दिएको छ । डा. प्रधानका श्रीमती र तीन छोरा छन ।
१५ भाद्र २०८०, शुक्रबार १६:४९ प्रकाशित