१५ भदाै, नेपालगन्ज । लुम्बिनी प्रदेसका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) शुक्रबार बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित एक घरको आगनमा घाँस काट्दै गरेको अवस्थामा भेटिए । उनकाे साथमा थिए बाँके जिल्ला संयोजक नरेन्द्र प्रसाद पाण्डे (जेम्स) । पछिल्लो समयमा प्रविधिसंगै विकास भएको घाँस काट्ने स्वचालित मेसिनद्वारा उनले घरको वरिपरी आँगनमा उम्रेको मसिनो झारपातसहितको घाँस काटेर सफा गर्दैथिए । संयोजक जेम्स हसियाद्वारा घाँस काट्न ब्यस्त देखिन्थे ।
पूर्व मुख्यमन्त्री सोनाम नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत हुन । ‘घरघरमा माओवादी, मनमनमा माओवादी’ भन्ने मूल नाराका साथ पार्टिले भदौ १६ गतेदेखि देशभर सञ्चालन गर्न लागेको तीन महिने ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ का लागि उनलाई बाँकेको इन्चार्जको जिम्मेवारी दिएको छ । त्यही जिम्मेवारी पूरा गर्नका लागि उहाँ अहिले बाँकेमा कृयाशिल छन।
शुक्रबार बिहान उनी नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती बाँकेको कार्यालय रहेको घरको आगनमा उम्रेको घाँस काट्दै गरेको अवस्थामा भेटिएका थिए । ‘पार्टीको अभियानसहित हामीले स्वच्छ वातावरणका लागि घर वरपर सधै सफा राख्नुपर्छ, आज पार्टी कार्यालय परिसरमा विभिन्न विरुवाहरु लगाउने कार्यक्रम रहेकाले सरसफाइ गर्दैछौं ।’ सोनामले भने।
पार्टी कार्यालयलाई सुन्दर तथा हराभरा बनाउनका लागि गुलमोहर, लिची, श्रीखण्ड, आँप, मेवा, नीम लगायत अन्य प्रजातिका दर्जनौं बिरुवा लगाउन लागिएको माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स) ले जानकारी दिए । उनले शुक्रवार (आजै) बिरुवा लगाउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
पार्टी कार्यालय सरसफाइ कार्यक्रममा जिल्ला इन्चार्ज सोनाम, जिल्ला संयोजक जेम्स, जिल्ला सचिव डिल्ली बराल (अमिर), आइसीटी फोरमका बाँके संयोजक दिपेन्द्र बिष्ट, जानकी अध्यक्ष नारायण गिरी लगायतको सहभागिता रहेको थियो ।
१५ भाद्र २०८०, शुक्रबार १२:१४ प्रकाशित