६ भदौ, काठमाण्डौं । चार देश सम्मिलित महिला टी-२० आई श्रृंखला २०२३ मा लगातार दोस्रो जित हासिल गर्दै नेपाल फाइनल नजिक पुगेको छ।
मलेसियाको बायोमास ओभलमा बुधबार सम्पन्न कुवेतबिरुद्धको खेल ३४ रनले जित्दै नेपाल फाइनल नजिक पुग्न सफल भएको हो । यसअघि मंगलबार भएको पहिलो खेलमा नेपालले हङ्गकङ्गलाई ६ विकेटले पराजित गरेको थियो ।
ईन्दु बर्माले अलराण्ड प्रदर्शन गर्दा नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कुवेत निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रनमा समेटियो ।
कुवेतका लागि जिफा जिलानीले १९ बलमा १ चौकासहित सर्वाधिक ११ र खादिजा खलिलले २२ बलमा १० रन जोडिन्। उसको अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङ्गमा नेपालकी इन्दु बर्माले ४ ओभरमा १० रन खर्चेर ३, नेपालका लागि डेब्यु खेल खेलेकी खुशी डंगोलले ३ ओभरमा २ मेडनसहित ३ रन खर्चेर २ तथा ईश्वरी विष्ट, कविता कुँवर र सीता रानामगरले एक एक विकेट लिइन् ।
यसअघि टस हारेर पहिला ब्याटिङ्ग गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८९ रनको कुल योगफल तयार पारेको थियो। नेपालका लागि ईन्दु बर्माले सर्वाधिक २३, बिन्दु रावलले २० तथा काजल श्रेष्ठले अविजित १९ रन जोडिन् ।
नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् भने बलिङ्गमा कुवेतका लागि मरिन्मा हैदरले ४ तथा मरयाम ओमरले २ विकेट लिईन् ।
फाइनल नजिक पुगेको नेपालले तेश्रो खेल २५ अगष्टमा घरेलु टोली मलेसियासँग खेल्नेछ । नेपाल शीर्ष दुईमा रहन सके २६ अगष्टमा फाइनल खेल्ने छ।
नोपलले आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनौट अघि नेपाल, मलेसिया, हङ्गकङ्ग र कुवेत गरि चार देश सम्मिलित श्रृंखला खेलिरहेको हो ।
६ भाद्र २०८०, बुधबार १५:३८ प्रकाशित