उद्घाटन भएकाे ४० दिनपछि संचालनमा आउदै काेहलपुर बसपार्क
  • काँचुली खबर

१ भदाै, काेहलपुर । बाँकेकाे काेहलपुरमा रहेकाे लामाेदुरीकाे बसपार्क आजदेखि संचालनमा आउने भएकाे छ । उद्घाटन भएकाे झण्डै ४० दिनपछि बसपार्क संचालनमा आउन लागेकाे हाे । उक्त बसपार्ककाे गत असार २४ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चाैधरीले उद्घाटन गरेका थिए ।

उद्घाटन लगत्तै संचालनमा आउने बताईएपनि झण्डै डेढ महिनापछि मात्र बसपार्क संचालनकाे तयारी गरीएकाे हाे ।बसपार्कको समग्र व्यवस्थापनको जिम्मा बागेश्वरी यातायात व्यवसायी प्रा.लि.ले पाएको छ ।

आज विहानबाट लामोदुरीको नयाँ बसपार्कबाट बस सञ्चालन गर्दै सेवा सुरू गर्न लागिएकाे बागेश्वरी यातायात व्यवसायी प्रा.लि.का अध्यक्ष मन प्रसाद आचार्यले बताए ।

प्रालिले बसपार्क व्यवस्थापनका लागि वार्षिक ७१ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ नगरपालिकालाई तिर्नेछ । प्रालिले बसपार्क व्यवस्थापनका लागि प्रवेश, टिकट काउन्टर, शौचालय मर्मत सम्भार, ब्लक र पार्किङको सम्पूर्ण व्यवस्थापन गर्ने बताईएकाे छ ।

बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण लगानी नगर विकास कोषले गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैँले लगानी गरेको छ ।

नगर विकास कोषलाई वार्षिक ८ प्रतिशत ब्याज रकम तिर्नेगरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता गरिएको थियो । बसपार्कमा बस पार्किङ, टिकट काउण्टर, सपिङ कम्प्लेक्स, ३ वटा प्लेटफर्म र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्तनपान कक्ष, धुम्रपान कक्ष, सुरक्षा कक्ष तथा विद्युतीय चाजिङ्ग स्टेशनको व्यवस्था मिलाइएको छ ।

३० करोड ६२ लाख ७ हजार ७ सय १ रुपैयामा लामोदुरीको बसपार्क निर्माण भएको हो । जसमध्ये नगर विकास कोषबाट ऋण १८ करोड ३७ लाख २४ हजार ६ सय २१ रुपैया र नगरपालिबाट १२ करोड २४ लाख ८३ हजार ८० रुपैया रहेको छ ।

बसपार्क भित्र व्यापारिक प्रयोजनका लागि ५९ वटा सटर निर्माण गरीएकाे छ ।

  • १ भाद्र २०८०, शुक्रबार ०८:२९ प्रकाशित
  • Nabintech