२३ मंसिर २०७९, शुक्रबार
आप्रवासीले जिताएको विश्वकप !
  • काँचुली खबर

जोर्डनी कार्टुनिष्ट मोहम्मद रिफाईको फेसबुकबाट साभार ।

 

१० दिन पहिले विश्वकप चलिरहेकै बेला फ्रान्सको पश्चिमी शहर कान्टेसमा जातीय दंगा भयो। स्थानीय युवाहरूले सरकारी भवनमा ढुंगा हाने, सडकमा गुडिरहेका गाडीमा आगजनी गरे। सुरक्षामा खटिएका प्रहरीमाथि आक्रमण गरे।

दंगाको कारण थियो, एक जना आप्रवासीको प्रहरीद्वारा भएको हत्या । ट्राफिक जाँचका क्रममा भाग्न खोजेको भन्दै प्रहरीले चलाएको गोली लागेर २२ वर्षीय युवाको मृत्यु भएको थियो। उनी अफ्रिकी मुलुक गिनीबाट बसाइ सरेका आप्रवासी बाबुका सन्तान थिए।

पछिल्ला २ दशकमा फ्रान्समा आप्रवासीविरोधी भावना बढ्दै गएको छ। सन् २००५ मा दुई जना आप्रवासी किशोरलाई प्रहरीले करेन्ट लगाएर मारेपछि जातीय दंगा भड्केको थियो। त्यसयता जातीय तनाव मात्र बढेको छैन, त्यही तनावलाई राजनीतिक आधार बनाउँदै फ्रान्समा दक्षिणपन्थी राष्ट्रवादी पार्टीको उदय भएको छ।

दक्षिणपन्थी राजनीतिको संक्रमण समाज र राज्यका अंगमा पनि सरेको छ। फ्रेन्च प्रहरीको निशानामा विशेष गरी अफ्रिकी मूलका आप्रवासी पर्दै आएको आरोप बारम्बार लाग्न थालेको छ। फ्रान्समा नागरिकको जात र साम्प्रदायिकताको तथ्यांक संकलन गर्नु गैरकानुनी मानिन्छ। जनसंख्याविद्ले फ्रान्सको १० प्रतिशत जनसंख्या उत्तर अफ्रिकी भएको अनुमान गरेका छन्।

यो जातीय विभेद र सामाजिक तनावलाई यसपालीको विश्वकपले शीतल मल्हम लगाइदिएको मान्ने धेरै छन्।

यसपालिको विश्वकप फ्रान्सले जित्यो। एक पाइला अगाडि बढेर भन्ने हो भने आप्रवासी फ्रेन्चले फ्रान्सलाई विश्वकप जिताए। तिनै आप्रवासी जो छालाको रङ, भाषा र आफ्नो संस्कृतिका कारण कतिका दृष्टिमा ’कम फ्रेन्च’ मानिन्छन्।

आइतबार राति मस्कोमा विश्वकप ट्रफी उचाल्नेमा तिनै ‘कम फ्रेन्च’को बाहुल्य थियो।

२० वर्ष फ्रान्सले पहिलो पटक विश्वकप जित्दा पनि फ्रान्सलाई विश्वकप दिलाउन प्रमुख भूमिका आप्रवासी परिवारका सदस्य जिनेदिन जिदानकै थियो। उनले फ्रान्सलाई विश्वकम फाइनलमा पुर्रुयाउनमात्र मद्दत गरेनन्, फाइनलमा पनि २ गोल गरेर ट्रफी दिलाए।

जिदानका पुर्खा फ्रेन्च थिएनन्। त्यसैले जिदान पनि ‘कम फ्रेन्च’ थिए। उनका बाआमा कुनै बेलाको फ्रेन्च उपनिवेश अफ्रिकी मुलुक अल्जेरियाबाट आएका थिए।

फ्रान्सको यसपालीको टोलीका त २३ जना खेलाडीमध्ये १५ जना खेलाडी आप्रवासी परिवारका छन्। रसियामा भएको विश्वकपमा यसपाली पाँच वटा अफ्रिकन मुलुकले खेलेका थिए।

फ्रेन्च टिममा रहेको अफ्रिकी मूलका खेलाडीको बाहुल्यलाई इगिंत गर्दै धेरैले यसपाली फ्रान्सलाई विश्वकप खेल्ने छैठौं अफ्रिकी देशसम्म भने।

यही विश्वकपबाट उदाएका र कतिपयले अर्का पेले भन्न थालेका केलियन एम्बाप्पेका पुर्खा पनि फ्रेन्च होइनन्। उनका बुवा क्यामरूनबाट फ्रान्स पुगेका हुन् भने आमा अल्जेरियन हुन्।

त्यस्तै फ्रेन्च टोलीका राफेल भरानका बा मार्टि्निक्युबाट आएका हुन्, स्यामुयल यूमिटी क्यामरूनमा जन्मेका हुन्। पाउल पोग्वाका आमाबुवा गिनीबाट आएका हुन्। कोरिन्टिन टोलिसोका बा टोगोबाट आएका हुन्। एन्गोलो कान्टेका आमाबुवा मालीबाट फ्रान्स बसाइ सरेका हुन्। आउजमान डेम्बेलेका आमावुबा मौरिटानियाबाट आएका हुन्। ब्लाइस माउतुडीका बा अंगोलाका हुन्। नविल फकिरका आमाबुवा अल्जेरियाबाट आएका हुन् भने स्टेभन एनजोन्जीका अभिभावक कंगोबाट आएका हुन्।

समग्रमा अहिलेको फ्रेन्च टोली गोरा, अरेबियन र कालाको समिश्रण हो।

धेरै समय अघिदेखि नै फ्रेन्च टिममा ‘कम फ्रेन्च’हरुको बोलवाला चलेको भन्दै आलोचना हुन थालेको थियो।

सन् २००० को युरो कप फ्रान्सले जित्यो। त्यही वर्ष गरिएको एक सर्वेक्षणमा सहभागीमध्ये एक तिहाइले राष्ट्रिय टोलीमा धेरै नै विदेशी मूलका खेलाडी भएको टिप्पणी गरेका थिए। त्यो टिप्पणी भित्र असन्तुष्टि लुकेको थियो।

सन् २००५ मा एकजना राष्ट्रवादी एलाइन फिन्केलराउले भने, सबैजना फ्रेन्च टोलीको प्रशंसा गर्छन् किनकी यसमा गोरा, अरेबियन र कालाको समिश्रण छ।

उनले थपे, खासमा फ्रेन्च टोलीमा काला, काला र कालामात्र छन्। त्यही भएर फ्रान्स युरोपको हाँसोको पात्र बनेको छ।

यसरी राष्ट्रवादीहरुको आलोचना बढ्दै गएपछि सन् २०११मा फ्रेन्च फुटबल फेडेरेशनले युथ फुटवल ट्रेनिङमा अघोषित कोटा प्रणालीमार्फत काला खेलाडीका लागि ठाँउ सीमित गर्रुयो।

रुविभेदमा परेका तिनै काला,’कम फ्रेन्च’ले यसपाली फ्रान्सलाई विश्वकप दिलाए।

भनिन्छ, फुटबलले राष्ट्रिय एकताको भावलाई कसिलो बनाउँछ। यसपालीको विश्वकप जितले फ्रेन्च समाजमा आप्रवासीमाथिको दुर्भावनालाई कम गर्यो वा बदल्यो भने त्यो राजनीतिमाथि फुटबलको जित हुनेछ।

 

स्रोत : सेतोपाटी

  • १ श्रावण २०७५, मंगलवार २१:२५ प्रकाशित
  • Nabintech