खजुराको जेठीनालामा डुबेर सुनार बेपत्ता, खोजीकार्य जारी
  • काँचुली खबर

२५ साउन, नेपालगन्ज । बुधबार दिउँसो देखी स्थानिय जेठीनालामा डुबेर वेपत्ता भएका बाँकेका एक युवा अझैं फेला परेका छैनन । पौडी खेल्ने क्रममा खजुरा गाउँपालिका वडा नम्बर ७ स्थित जेठीनालामा डुबेरका खजुरा ६ शान्तिनगरका १५ वर्षीय विकास सुनारको अवस्था अझैं अज्ञात रहेको प्रहरीले जनाएको छ । नालामा डुबेर वेपत्ता भएको २४ घण्टा बितिसक्दा समेत उनको अवस्थाको बारेमा केही जानकारी प्राप्त हुन नसकेको इलाका प्रहरी कार्यालय खजुराले जनाएको छ ।

इलाका प्रहरी कार्यालय खजुराका प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्दीप बेलवासेले चारजना साथीसहित जेठीनालामा पौडी खेल्न गएका सुनार बुधबार दिउँसो करिब २ बजे डुबेको बताए । उनले प्रहरीलाई पौने चार बजे खबर आएको जनाउँदै खबर आएलगत्तै नालामा पुगेर खोजी कार्य सुरु गरिएको तर हालसम्म पनि फेला नपरेको बताए ।

प्रहरी प्रमुख बेलवासेले बुधबार साँझसम्म खोजी गरे पनि सुनार फेला नपर्दा बिहीबार बिहानदेखि फेरि खोजी कार्य सुरु गरिएको बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष गोताखोर टोलीले जेठीनालामा सुनारलाई खोजिरहेको प्रहरीले जनाएको छ ।

स्थानीय श्री जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सुनार डुबेर बेपत्ता भएपछि शान्तिनगर शोकमा डुबेको स्थानीयले जनाएका छन् । जेठीनालामा आएको बाढीका कारण पानीको बहाव तीव्र भएको र नाला गहिरो बनेकोले पनि खोजीमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

  • २५ श्रावण २०८०, बिहीबार १२:५१ प्रकाशित
  • Nabintech