६ जेष्ठ २०८१, आईतवार
भेरी-बबई आयोजना : ६२ प्रतिशत काम सम्पन्न
  • काँचुली खबर

२४ साउन, सुर्खेत । राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ६२ प्रतिशत काम सम्पन्न भएको छ । २०७१ सालबाट सुरु भएको यो आयोजनाको हालसम्म ६२ प्रतिशत काम सम्पन्न भएको हो । बाँकी रहेको आयोजनाको ३८ प्रतिशत काम पनि अबको तीन वर्षभित्रमा सक्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ ।

यो आयोजनाका मुख्य दुई वटा उद्देश्य छन् । पहिलो आयोजनाबाट ४६ मेगावाट विद्युत् उत्पादन गरिनेछ । दोस्रो उद्देश्यअन्तर्गत लुम्बिनी प्रदेशका बाँके र बर्दियामा रहेको ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराइनेछ । आयोजनाअन्तर्गत पहिलो चरणमा निकै जटिल मानिएको १२ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । सुरुङ निर्माणको काम सम्पन्न भएसँगै हाल सुर्खेतको चिप्लेस्थित भेरी नदीमा बाँध निर्माण र हात्तिखालमा विद्युतगृह निर्माणको काम चलिरहेको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिकास्थित चिप्लेमा भेरी नदीमा बाँध बाँधेर सुरुङमार्फत भेरीको पानी सुर्खेत र बर्दियाको सिमानामा रहेको बबई नदीमा खसाल्ने योजनासहित धमाधम काम भइरहेको हो । जसअन्तर्गत हालसम्म आयोजनामा ६२ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लोकनाथ सुवेदीले बताए । ‘दुई वर्षसम्म कोरोना महामारीका कारण आयोजनाको काम प्रभावित भयो’ आयोजनाका सूचना अधिकारीसमेत रहेका सुवेदीले भने, ‘हालसम्म आयोजनाको भौतिक निर्माणतर्फ ६२ प्रतिशत काम सम्पन्न भइसकेको छ, बाँकी रहेको ३८ प्रतिशत काम पनि ढिलोमा अबको तीन वर्षभित्र सक्नेगरी काम गरिरहेका छौं ।’

हाल सिभिलतर्फ बाँध र विद्युत्गृह निर्माणको काम भइरहेको छ । उनका अनुसार यसतर्फ हालसम्म ४५ प्रतिशत काम सम्पन्न भएको छ । यस्तै, हाइड्रोमेकानिकलतर्फ २५ प्रतिशत र इलेक्ट्रोमेकानिकलतर्फ १२ प्रतिशत काम भएको छ । तोकिएकै समयमा आयोजनाको काम सम्पन्न गर्न छुट्टाछुट्टै ठेक्का सम्झौतामा काम भइरहेको सूचना अधिकारी सुवेदीको भनाइ छ ।

स्वदेशी लगानीमा निर्माण भइरहेको यो आयोजनाको २०७१ साल चैत १९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेका थिए । कुल ३६ अर्ब ८० करोड लागतमा निर्माण सम्पन्न हुने अनुमान गरिएको यो आयोजनामा हालसम्म ५४ प्रतिशत आर्थिक प्रगति भएको छ ।

सुवेदीले भने, ‘दोस्रो चरणको कामअन्तर्गत अबको तीन वर्षभित्रमा भेरीको पानी बबईमा खस्नेछ, त्यसपछि विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारणमा जोड्ने छौं ।’ यस्तै तेस्रो चरणमा भेरीको पानीलाई सिँचाइमा प्रयोग गर्ने योजनासहित काम अगाडि बढिरहेको सुवेदीले जानकारी दिए । सुर्खेतको चिप्लेमा बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने आयोजनाको लक्ष्य छ । सुवेदी भन्छन्, ‘गत वर्षको बाढीले पनि नदीमा बाँध निर्माणमा समस्या भयो, तर अब कुनै अवरोध नआएमा अबको तीन वर्षभित्र सबै काम सक्ने तयारीमा छौं ।’ तोकिएकै समयमा काम सम्पन्न गर्नेगरी धमाधम काम भइरहेको उनले बताए ।

भेरीको पानी बबई नदीमा खसाल्नका लागि चिप्लेमा बाँध निर्माणको काम भइरहेको छ । जहाँ १ सय १४ मिटर लामो र १४ मिटर अग्लो ब्यारेज बनाइनेछ । आयोजना सञ्चालन हुँदा सुर्खेतको भेरीगंगा, गुर्भाकोट र लेकबेंसीको ३२ हेक्टरभन्दा बढी जग्गा डुबानमा पर्छ ।

त्यसकारण पनि आयोजनाले प्रभावित स्थानीयलाई मुआब्जा वितरण गरिसकेको छ । भौतिक विकासमा पछाडि परेको कर्णालीका लागि यो आयोजना सञ्चालनमा आए समृद्धिको ढोका खुल्ने अपेक्षा गरिएको छ । यो कर्णालीमा हाल निर्माणाधीन सबैभन्दा ठूलो आयोजना हो । यसकारण पनि कर्णालीवासीले यसलाई समृद्धि र विकासको मेरुदण्डका रूपमा लिएका छन् ।

-अन्नपूर्णपोष्टबाट

  • २४ श्रावण २०८०, बुधबार १४:१९ प्रकाशित
  • Nabintech