माओवादि केन्द्रले बाँकेमा विशेष अभियान चलाउने
  • काँचुली खबर

२३ साउन, नेपालगन्ज । नेकपा माओवादी केन्द्र बाँकेले विशेष अभियान संचालन गर्ने भएकाे छ । माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स)ले जिल्लामा पार्टीलाई सबैभन्दा ठुलो दल बनाउने उद्देश्यले विशेष अभियान संचालनकाे तयारी गरीएकाे बताएका हुन ।

प्रेस सेन्टर बाँकेको आयोजनामा सेन्टरका केन्द्रिय तथा प्रदेश समितीका पदाधिकारी, सदस्य लगायत जिल्ला कार्यसमिति र पालिका समितिका पदाधिकारी सम्मिलित मंगलवार भएको बैठकमा बोल्दै संयोजक पाण्डेले बाँके पार्टीमा कुनै पनि गुट उपगुट नभएको र हुन नदिने दावी गर्दै सबैले एक ढिक्का भएर पार्टीको सिद्धान्त र विधान अनुसार काम गर्ने बताए ।

हिजोका दिनमा के-के भयो र के-के भएन त्यसलाई थाति राखेर अब सबै मिलेर माओवादी केन्द्रलाई बलियो, सुदृढ र सबै जनताको पार्टी बनाउनेतिर लामबद्ध हुन संयाेजक पाण्डेले नेता कार्यकर्तालाई आग्रह गरे ।

माओवादी केन्द्रले शुरु गर्न लागेको तीन महिने विशेष रुपान्तरण अभियानलाई पार्टी बलियो बनाउने अभियानका रुपमा प्रयोग गरेर जिल्लाका सबै पालिकामा रहेका पार्टी संगठनहरुलाई सक्रिय, बलियो र जनताको सेवकका रुपमा परिचालन गरिने संयोजक पाण्डेले बताए ।

उनले प्रेस सेन्टर नेपालसँग सधैं समन्वय, सल्लाह गरेर अगाडी बढ्ने जनाउँदै प्रेस सेन्टर नेपालले पनि पार्टीको नेतृत्वमा भएका राम्रो कामको प्रचार प्रसार गर्नुका साथै पार्टीलाई सही सुझाव दिन अनुरोध गरे । सो अवसरमा संयोजक पाण्डेले प्रेस सेन्टरले पार्टीबाट चाहिएको सहयोग र संगठनले गर्ने कामका सम्बन्धमा एक विस्तृत कार्य योजना बनाउन पनि आग्रह गरे ।

सो अवसरमा प्रेस सेन्टरका केन्द्रिय सचिव सिराज खान, केन्द्रिय सदस्यहरु डक्ट धिताल, शिव सुनार, प्रदेश उपाध्यक्ष प्रदीप वाग्ले, प्रदेश सचिव आलम खान, जिल्ला अध्यक्ष राजेश आचार्य, सचिव केपी घिमिरे लगायतले पनि पार्टी र प्रेस सेन्टरविचको समन्वय र सहकार्यका बारेमा आ-आफ्नो धारणा राखेका थिए ।

  • २३ श्रावण २०८०, मंगलवार २०:२७ प्रकाशित
  • Nabintech