२१ साउन, काठमाडौँ । सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई कायममुकायम प्रधानन्यायाधीशकाको जिम्मेवारी प्रदान गरीएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेदेखि सेवा निवृत्त भएपछि श्रेष्ठले आइतबारबाट नेतृत्व सम्हालेका हुन् ।
आइतबार पदबहालीका क्रममा कामु प्रधानन्यायाधीश श्रेष्ठले संविधान र कानुनका आधारमा सेवाग्राहीको हितलाई हेरेर चुस्तदुरुस्त तरिकाले काम गर्न निर्देशन दिए । उनले सेवाग्राहीले महसुस हुने गरी छिटो मुद्दा फछ्र्यौट गर्न आगामी दिनमा चाल्ने कदमका बारेमा न्यायाधीशहरुसँग छलफल गरेर तत्कालीन र दीर्घकालीन गर्न कामहरु तय गर्ने बताए ।
कामु प्रधानन्यायाधीश श्रेष्ठले न्यायापालिकाको सुधारका लागि सिङ्गो समूह नै लाग्नुपर्ने र त्यसका लागि सबै न्यायाधीशहरु र प्रशासनले सहयोग गर्न आग्रह गरे । संवैधानिक परिषद्को बैठकले नेपालको ३१ औँ प्रधानन्यायाधीशमा नियुक्तिका लागि श्रेष्ठलाई नै सिफारिस भइसकेको छ ।
संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन गरे पनि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । सुनुवाइदेखि नियुक्तिसम्मको प्रक्रियामा केही समय लाग्ने देखिएको छ । श्रेष्ठको कार्यकाल आगामी वर्ष २०८१ असोजसम्म हुनेछ । न्याय सेवाको अधिकृत हुँदै जिल्ला न्यायाधीश, उच्च अदालतको न्यायाधीशबाट सर्वोच्चको न्यायाधीश भएका कार्यकालमा अदालतमा रोकिएका कामहरु प्रारम्भ हुने विश्वास व्यक्त गरिएको छ ।
२१ श्रावण २०८०, आईतवार १८:०५ प्रकाशित