२१ साउन, नेपालगन्ज । अटिजम भएका बालबालिकाका लागि पश्चिम नेपालकै पहिलो अटिजम फिजियोथेरापी नेपालगञ्जमा सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका-१२ कोरियनपुरमा ‘म्याजिक टच, चाइल्ड डेभलपमेन्ट सेन्टर’ को नाममा अटिजम फिजियोथेरापी सुरु गरिएको हो ।
भारतको दिल्ली, लखनउ र कानपुरमा शाखा रहेको ‘म्याजिक टच चाइल्ड डेभलपमेन्ट सेन्टर’ ले भारत बाहिर पहिलो पटक नेपालगञ्जमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । सो शाखा स्थापनाको समन्वयकारी भूमिका नेपालगन्ज मेडिकल कलेजका वरिष्ठ फिजिसियन डा- आसिम किदवाईले गरेका हुन ।
एक औपचारिक कार्यक्रमकाबीच नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगन्जका निर्देशक डा एम किदवाई, पूर्वमन्त्री मोहम्मद इस्तियाक राई र प्रतिनिधिसभा सदस्य डा. धवल शमशेर राणाले संयुक्त रूपमा सो फिजियोथेरापीको उद्घाटन गरेका हुन । भारतका चर्चित अटिजम फिजियोथेरापिष्ट डा. मोहम्मद इरफान नेतृत्वको टीमले बालबालिकालाई फिजियोथेरापी सेवा दिनेछ ।
वरिष्ठ फिजिसियन डा. आसिम किदवाईले उक्त किसिमको थेरापी यस क्षेत्रमा नहुँदा त्यसका लागि भारतको लखनउ वा काठमाडौँ जानुपर्ने बाध्यता रहेकोमा अब सो अन्त्य हुने बताए । उनले भारतका अति नै दक्ष अटिजम फिजियोथेरापिष्ट डा। इरफानद्धारा दिइने सेवा अति नै उत्कृष्ट र प्रभावकारी रहेकोले पश्चिम नेपालका तीनवटै प्रदेशका बालबालिकाले राहात पाउने बताए ।
बालबालिकामा देखिने अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या भएको चिकित्सकको भनाइ छ । डा. किदवाईले भने, “समाजमा अटिजमलाई रोग भन्ने गलत बुझाइ छ, तर यो रोग नभएर बालबालिकाको मस्तिष्क विकासका क्रममा आउने समस्या हो र थेरापीबाट निको हुन्छ ।”
अटिजम फिजियोथेरापिष्ट डा. मोहम्मद इरफानले यो थेरापीबाट अटिजम भएका बालबालिकाको शारीरिक तथा मानसिक क्षमताको विकास हुने, उनीहरू रमाउने र खुसी हुने, उनीहरूलाई आराम दिने र यसका कारण उनीहरूमा रोग-प्रतिरोधक क्षमताको पनि विकास गर्न मद्दत पुगेर पूर्ण रूपमा स्वास्थ्य हुने बताए । उनले भारतमा म्याजिक टचले २५० भन्दा बढी अटिजम भएका बालबालिकाको थेरापी गरेर उनीहरूलाई निको पारेको र सो क्रम जारी रहेको बताए।
अटिजमको कुनै औषधि छैन । यो थेरापीबाट नै निको हुने हो । यसका लागि व्यवहार थेरापी सबैभन्दा उत्तम हुन्छ । सो बाल विकास केन्द्रमा अटिजम भएका बालबालिकालाई फिजियोथेरापी, स्पिच थेरापी, अकुपेसनल थेरापी, सङ्गीत चिकित्सा, कला थेरापी, व्यवहार थेरापी, प्राकृतिक चिकित्सा थेरापी आदि दिइने जनाइएको छ ।
-गोरखापत्रबाट
२१ श्रावण २०८०, आईतवार १३:३५ प्रकाशित