२० साउन, काठमाण्डौं । कुनै पनि टोलीमा सबै खेलाडीहरूको भूमिका महत्त्वपूर्ण हुन्छ नै । यद्यपि केही खेलाडीहरूमा समर्थकहरूले केही धेरै वा थोरै विश्वास गर्ने गर्छन् ।
आगामी महिना हुने एशिया कप क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तानसँग पहिलो पटक सामना गर्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूको पनि विभिन्न ढङ्गले चर्चा भइरहेको छ ।
टेस्ट टोलीविरुद्ध नेपाली खेलाडीहरूले कस्तो प्रदर्शन गर्लान् ? सबैको चासो यसैमा केन्द्रित छ ।
पछिल्लो समय एकपछि अर्को प्रतियोगितामा लगातार जसो खेलिरहेका नेपाली खेलाडीहरूले प्रभावकारी प्रदर्शन गर्दै आएका छन् ।
अहिले नेपाली टोली कुनै एक वा दुई खेलाडीमा निर्भर छैन । फरक फरक खेलमा फरक फरक खेलाडीहरू चम्किएका छन् ।
भारत र पाकिस्तानसँग खेल्दा कस्ता खेलाडीहरूको भूमिका महत्त्वपूर्ण हुन सक्छ ? पछिल्ला खेलहरूको प्रदर्शनको आधारमा प्रभाव पार्न सक्ने पाँच खेलाडीहरू हुनसक्ने ठानिएको छ ।
कुशल भुर्तेल
भारत र पाकिस्तानसँग खेल्दा नेपालका लागि महत्त्वपूर्ण पक्ष भनेको टोलीलाई राम्रो सुरुआत दिन सक्नु हुनेछ । निश्चित छ, नेपाली ब्याटरहरूले टेस्ट खेल्ने टोलीका अत्यन्त तीव्र गतिका बलरहरूको सामना गर्नुपर्नेछ ।
प्रारम्भिक ब्याटर कुशल भुर्तेल त्यस कारण पनि उक्त प्रतियोगितामा महत्त्वपूर्ण पात्र हुनेछन् । पछिल्ला वर्षहरूमा राष्ट्रिय क्रिकेट टोलीको स्थायी ओपनरको पहिचान बनाइसकेका भुर्तेलसँग त्यो क्षमता छ पनि ।
नेपालले टेस्ट राष्ट्रको रूपमा जिम्बाब्वेविरुद्ध खेलेको खेलमा भुर्तेलले ९९ रनको लोभलाग्दो प्रदर्शन गरेका थिए ।
एशिया कपमा भुर्तेलको भूमिका विकेटमा धरै समय बिताएर इनिङ्गस अगाडि बढाउन सक्नुमा हुनेछ । भुर्तेल आक्रामक सुरुआत गर्न रुचाउने खेलाडी पनि हुन् । तर आफ्नो प्राकृतिक खेल खेल्नुभन्दा पनि विपक्षीको रणनीति बुझेर धैर्यपूर्वक खेल्नु उनको जिम्मा हुनेछ ।
भुर्तेल ‘फास्ट बलर’ विरुद्ध राम्रो स्ट्रोक खेल्न सक्षम खेलाडी हुन् । यद्यपि ‘शर्ट पिच बल’ खेल्न नसक्नु नेपाली ब्याटरहरूको कमजोरीमध्येमा पर्छ । त्यसकारण आक्रामक रूपमा प्रस्तुत नभई उनले धेरै रन बटुल्दै ‘इनिङ्गस बिल्ड अप’ गर्नुपर्ने बताइन्छ ।
श्रीलङ्कामा भएको एसीसी एमर्जिङ कपमा पाकिस्तान र भारत ‘ए’ सँगको दुवै खेलमा भुर्तेलले तीव्र गतिको बल झेल्न नसक्दा आउट हुन पुगेका थिए। त्यो उनका लागि पाठ हुन सक्छ ।
रोहित पौडेल
रोहित पौडेल मध्यक्रममा नेपालको सबैभन्दा भरपर्दा ब्याटर मानिन्छन् । एशिया कपमा उनको व्यक्तिगत प्रदर्शन र कप्तानी दुवै महत्त्वपूर्ण हुने ठानिएको छ ।
विश्वस्तरीय ब्याटरविरुद्ध आफ्ना बलरहरूलाई कसरी प्रयोग गर्ने ? उनको कप्तानी क्षमताको ठूलो परीक्षा पनि हुने जानकारहरू बताउँछन् ।
कप्तान पौडेल परिस्थिति बुझेर खेल्न सक्ने क्षमता भएका खेलाडी हुन् । उनी आक्रामक खेलाडी होइनन्, बिस्तारै एक, दुई रन बनाएर खेल्ने खुबी उनमा भएको मानिन्छ ।
नेपाली ब्याटिङलाई स्थिरता दिने खेलाडी हुन् पौडेल । एशिया कपमा पनि उनले आफ्नो त्यही खुबी देखाउन जरुरी ठानिएको छ ।
पछिल्लो समय महत्त्वपूर्ण खेलहरूमा उनको स्वाभाविक प्रदर्शन नदेखिएको टिप्पणी हुने गरेको छ । त्यसैले एशिया कप जस्तो खेलमा उनले आफूलाई प्रमाणित गर्न जरुरी हुनसक्छ ।
गुलशन झा
पछिल्लो समय नेपालले पाएका मुख्य अलराउन्डर खेलाडी हुन् गुलशन झा । उनले बल र ब्याट दुबैबाट टिममा योगदान पुर्याउन सक्छन् ।
दायाँ हातले बलिङ अनि बायाँ हातले ब्याटिङ गर्ने १७ वर्षका उनी बायाँ हाते स्पिनरसँग खेल्न खप्पिस देखिन्छन् ।
कतिपयको अनुमान छ, भारत-पाकिस्तानका लागि उनको बलिङ ‘लेन्थ’ र बायाँ हाते ब्याटिङ ‘अप्रत्याशित’ हुनसक्छ ।
पछिल्लो समय झा राम्रो ‘फर्म’ मा देखिएका छन् । विश्वकप लीग-२ को सफल प्रदर्शनले उनको आत्मबल पनि बढेको अवस्था छ । उनी सातौँ वा आठौँ स्थानका लागि उपयुक्त ब्याटर मानिएका छन् ।
मध्यम गतिका बलर झा विपक्षीलाई झुक्याउन सक्ने बलरका रूपमा देखा परेका छन् ।
दीपेन्द्र सिंह ऐरी
आफ्नो स्वाभाविक लयमा फर्किएका भनिएका दीपेन्द्र सिंह ऐरीप्रति समर्थकले ठूलो आशा राखेका छन् ।
राष्ट्रिय टोलीका अर्का महत्त्वपूर्ण अलराउन्डरको परिचय बनाएका ऐरी अनुभवी तल्लो मध्यक्रमका भरपर्दा पात्र हुन् । उनमा खेलको परिस्थिति अनुसार छक्का चौका हान्न सक्ने खुबी छ ।
अर्को कुरा थप रन बटुल्न छिटो दगुर्न सक्ने क्षमतामा उनी नेपाली टोलीका अन्य सदस्यभन्दा अगाडि छन् ।
कुनै पनि परिस्थितिमा खेल्न सक्ने ऐरीको इतिहास हेर्ने हो भने उनले बलिया टोलीविरुद्ध अप्ठेरो अवस्थामा रन बनाएका छन् । त्यो उनले एशिया कपमा पनि दोहोर्याउनुपर्ने छ ।
अर्कोतर्फ बलिङमा ऐरी राम्रो विकल्प मानिन्छन् । ‘लाइन र लेन्थ’ मा राम्रा मानिने उनी ‘राउन्ड द विकेट’ बलिङमा पनि अब्बल छन् । छिटो छिटो खेलेर विपक्षी ब्याटरलाई सम्हालिन कम मौका दिने खुबी उनमा छ ।
उनको सातरआठ ओभर नेपालको लागि महत्त्वपूर्ण हुन सक्नेछ । ऐरीको क्षेत्र रक्षण वा फिल्डिङ पनि गजबको छ ।
सन्दीप लामिछाने
एशिया कपमा सन्दीप लामिछाने नै नेपाली टोलीको ‘ट्रम्प कार्ड’ वा महत्त्वपूर्ण खेलाडी हुनेछन् । टोलीको मुख्य बलरका रूपमा उनको काँधमा विकेट लिने जिम्मा हुनेछ ।
विश्व स्तरमा ठूला प्रतिद्वन्द्वीसँग खेलेको अनुभव भएका उनी टोलीका एक मात्र सदस्य हुन् । लामिछानेको बलिङमा विविधता छ । उनको गुगली विपक्षी ब्याटरले बुझ्न गाह्रो हुने छ ।
लामिछानेले नै उक्त प्रतियोगितामा बलिङमा नेपाली टोलीको नेतृत्व लिनु पर्नेछ । उनीबाट नेपाली समर्थकले त्यो आशा गर्नेछन् नै ।
२० श्रावण २०८०, शनिबार १५:२१ प्रकाशित