पाकिस्तानका पूर्व प्रधानमन्त्रीलाई तीन वर्षको जेल सजाय
  • काँचुली खबर

२० साउन, एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय सुनाइएको छ । उनलाई एक लाख रुपियाँ पनि जरिवाना गरिएको छ । शनिवार अपराह्न १२ बजेपछि तोसाखाना मामिलाको सुनुवाइ तेस्रो पटक सुरु भएको थियो । त्यसमा इमरान खानका वकिल अनुपस्थित रहेका थिए ।

अदालतले उनका वकिललाई १२ बजेसम्म उपस्थित हुन समय दिएको थियो। त्यसपछि अदालतले आफ्नो निर्णय सुनाएको हो ।

कुन मुद्दामा निर्णय सुनाइएको हो ?

इस्लामावादस्थित एउटा अदालतले राज्यका उपहारहरू विक्री गर्दा आफूलाई प्राप्त भएको आम्दानी घोषणा नगरेकोमा उनलाई दोषी पाएको हो । न्यायाधीशले उनलाई तत्काल पक्राउ गर्न आदेश दिएका छन् । खानका वकिल इन्तजार हुसैनले रोएटर्स समाचार संस्थालाई पूर्व प्रधानमन्त्रीलाई उनको लाहौरस्थित घरबाट नियन्त्रणमा लिइएको बताएका छन् ।

खानको समूहले उक्त निर्णय विरुद्ध पुनरावेदन गर्ने जनाएको छ ।

पाकिस्तान चुनाव आयोगका वकिल अमजद परवेजले यो अदालतको सजायसँगै इमरान खान पाँच वर्षसम्म चुनावमा भाग लिन अयोग्य बन्ने बताएका छन्। तोसाखाना एउटा सरकारी विभाग हो । त्यहाँ प्रधानमन्त्री, राष्ट्रपति वा अरू उच्च अधिकारीहरूले कुनै यात्राको दौरान प्राप्त गर्ने महँगा उपहारहरू राख्ने गरिन्छ ।

कुनै पनि विदेश यात्राको समयमा विदेश मन्त्रालयका अधिकारीहरूले त्यस्तो उपहारको अभिलेख राख्ने गर्छन् । र यात्राबाट फर्किएपछि तीनलाई तोसाखानामा जम्मा गर्नुपर्ने हुन्छ ।

इमरान खान भूतपूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन् । राजनीतिमा प्रवेश गरेको दुई दशकपछि उनी पाकिस्तानका प्रधानमन्त्री बन्न सफल भए। देशको इतिहासमा विश्वासको मत प्राप्त गर्न विफल भएर सत्ताबाट बाहिरिने उनी प्रथम प्रधानमन्त्री समेत हुन् ।

सन् १९९६ मा उनले आफ्नो दल पाकिस्तान तहरिक-ए-इन्साफ (पीटिआई) स्थापना गरे तापनि सन् २०१३ को आमनिर्वाचनबाट मात्र उक्त दल राष्ट्रिय रूपमा गम्भीर शक्तिका रूपमा देखिन थालेको हो ।

‘नयाँ पाकिस्तान’को नारा दिएर भ्रष्टाचारविरुद्ध लड्ने र अर्थतन्त्रलाई लयमा ल्याउने बाचासाथ सन् २०१८ को जुलाईमा उनी देशको प्रधानमन्त्री निर्वाचित भएका थिए । तर सन् २०२२ को एप्रिलमा विश्वासको मत प्राप्त गर्न विफल भएपछि उनको सरकार ढलेको थियो ।

  • २० श्रावण २०८०, शनिबार १४:२६ प्रकाशित
  • Nabintech