प्रस्तावित विद्यालय शिक्षा विधेयक सम्बन्धी कोहलपुरमा अन्तरक्रिया
  • काँचुली खबर

१९ साउन, काेहलपुर । बाँकेको कोहलपुरमा प्रस्तावित विद्यालय शिक्षा विधेयक सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल शिक्षक संघ कोहलपुर नगरसमितिले प्रस्तावित विद्यालय शिक्षा विधेयकका विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम बोल्दै नेपाल शिक्षक संघका केन्द्रिय महासचिव ज्ञानेन्द्र बहादुर रावलले प्रस्तावित विद्यालय शिक्षा विधेयक हुबहु पारित नहुने बन्दै आवश्यक छलफल गरि पारित हुने बताएका छन् । साथै उनले अस्थायी शिक्षकलाई जस्तै राहत शिक्षकको व्यवस्थापन गर्नु पर्ने माग सरकारसँग रहेको बताउँदै शिक्षकहरुको माग अनुसार विधेयक पारित गराउन लागिपर्ने बताएका छन् ।

“नेपालको परिवर्तनमा शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको छ” उनले भने “शिक्षकहरुको हक र अधिकार राज्यले संरक्षण गर्नुपर्छ, त्यसका लागि सरकारले शिक्षकहरुका माग सम्बोधन गर्नुपर्छ ।” संघीय सभाका दुवै सदनमा व्यापक छलफल गरेर मात्र विधेयक प्रमाणिकरण हुने भएकाले शिक्षकहरुका विभिन्न घटकहरुले सरकारसँग वार्ता गरी सोहि अनुसार विधेयक पारित हुने बताएका छन् ।

कार्यक्रममा नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष ऋषि शर्माले प्रस्तावित विद्यालय शिक्षा विधेयकमा भएका व्यवस्थाका बारेमा शिक्षकहरुलाई जानकारी गराउँदै कतिपय व्यवस्थाहरु परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् । स्थानीय स्तरबाट शिक्षकहरुले उठाएका मुद्धालाई केन्द्रको नेतृत्वले महत्वका साथ लिई सोहि अनुसार सरकारसँग वार्ता गरी विद्यालय शिक्षा विधेयकलाई परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रस्तावित विद्यालय शिक्षा विधेयकमा भएको व्यवस्थाका बारेमा बोल्दै कोहलपुरका शिक्षकहरुले शिक्षकको शैक्षिक योग्यता अनुसारको सेवा सुविधा हुनुपर्ने, राहत तथा उच्च मावि र बालविकास सहकर्ताहरुको उचित व्यवस्था गर्नु पर्ने, शिक्षकको व्यवस्थापन संघीय सरकारले गर्नुपर्ने, शिक्षकको सेवा प्रवेशको उमेर बढाउनुपर्ने, शिक्षकको सेवा सुविधाको उचित व्यवस्थापन गर्नुपर्ने, ग्रेड थप्नुपर्ने लगायतका सुझाव दिएका छन् ।

कार्यक्रम नेपाल शिक्षक संघ कोहलपुर नगर अध्यक्ष दिपक मल्लको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल शिक्षक महासंघ बाँकेका अध्यक्ष पवन यादव, नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुको सहभागीता रहेको थियो ।

  • १९ श्रावण २०८०, शुक्रबार १८:४८ प्रकाशित
  • Nabintech