१७ साउन, कोहलपुर । डिभिजन वन कार्यालय बाँकेले जिल्लाका विभिन्न तीन वटा सःमिलमा छापा मारेको छ । नेपालगन्ज सवडिभिजन वन कार्यालय राँझाका सहायक डिभिजनल वन अधिकृत नारायण पार्धेका अनुसार छापा मार्ने क्रममा समिलबाट अबैध काठ बरामद गरीएको छ ।
पार्धेका अनुसार विभिन्न ठाउँबाट अवैध काठ ओसारपसार गरी चिरानका लागि जिल्लामा रहेका सःमिलमा राखेको भन्ने सूचना प्राप्तका आधारमा बाँकेका तीन वटा मिलमा छापा मारेर अवैध काठ बरामद गरिएको छ ।
सहायक डिभिजनल वन अधिकृत पार्धेका अनुसार १९१.७८ क्यूफुट अवैध सालको चिरान काठ र ५१.०२ क्यूफुट अवैध खयरको गोलिया बरामद भएको छ । मङ्गलबार बाँकेको नेपालगन्ज उपमहानगरपालिका २०, राँझास्थित मनकामना सःमिलबाट ९४ थान सालको ५१.८२ क्यूफुट चिरान काठ र जानकी गाउँपालिका ६, पिप्रहवास्थित शिवशङ्कर सःमिलबाट १ सय ४९ थान सालको १ सय ३३.९६ क्यूफुट चिरान काठ बरामद गरिएको पार्धेले जानकारी दिए ।
त्यसैगरी बुधवार बिहान जानकी गाउँपालिका-३, मानपुरस्थित जनता सःमिल प्रालिबाट ५६ थान खयर गोलियाको ५१.०२ क्यूफुट काठ बरामद गरिएको उनले बताए ।
बरामद गरिएका सबै काठहरु डिभिजन वन कार्यालय बाँकेमा ल्याइएको उनले जानकारी दिए । बरामद गरिएका काठ र त्यसमा संलग्न व्यक्तिका बारेमा थप अनुसन्धान थालिएको उनले बताए । बाँकेमा पछिल्लो समयमा अवैध काठको ओसारपसार तथा चोरी तस्करी बढको छ ।
-गोरखापत्रबाट
१७ श्रावण २०८०, बुधबार १६:३२ प्रकाशित