९ साउन, नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा एमआरआई मेसिन आइपुगेको छ । तीन वर्षदेखिको पहल र प्रयासपछि सोमबार राति उक्त मेसिन भेरी अस्पतालमा आइपुगेको हो ।
विशिष्ट क्षमताको म्याग्नेटम भिटा सिष्टमको थ्रिटि एमआरआइ मेसिन नेपालगञ्ज आइपुगेको जानकारी दिदै भेरी अस्पतालले त्यसका लागि आवश्यक अन्य सामान आइपुगेको जनाएको छ ।
“भेरीलाई विशिष्टिकृत गर्दै जाने क्रममा आइपुगेको एमआरआई मेसिन ठूलो उपलब्धि हो ।” अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले भने ।
तीन वर्ष अघि डा. प्रकाश थापा मेडिकल सुपरिटेन्डेन्ट रहँदा भेरी अस्पतालमा सेवाको विशिष्टीकृत प्रयासलाई तीव्रता दिइएको थियो । त्यतिबेलै तत्कालीन मेसु डा। थापा नेतृत्वले एमआरआइका लागि गरेको पहल र प्रयासले सार्थकता पाएको हो ।
प्रमुख मेसु डा. चापागाईले भने, “भेरीमा सुविधासम्पन्न एमआरआइ मेसिनको उपलब्धता सामुदायिक स्वास्थ्यको क्षेत्रमा निकै महत्त्वपूर्ण अपलब्धि हो ।”
उनले यथासक्य स्रोत र साधनबाट मेसिनलाई सञ्चालन गरी आम जनताको स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने बताए ।
अस्पतालमा न्यूरोसर्जरी, आर्थोस्कोपीलगायत विभिन्न विशिष्टिकृत सेवा सुरु भइसकेको परिप्रेक्ष्यमा यो सेवाको उपलब्धता बिरामीको रोग निदान तथा उपचारमा कोशेढुङ्गा सावित हुने मेसु चापागाईले बताए । मेसिन जडान गरी सेवा सुरु गर्न अझै केही हप्ता लाग्ने अस्पतालले जनाएको छ ।
९ श्रावण २०८०, मंगलवार १६:३० प्रकाशित