५ साउन, कोहलपुर । कोहलपुर खानेपानी संस्थाको आगामी निर्वाचनकालागि काँग्रेस सम्वद्ध लोकतान्त्रिक प्यानलले आफ्नो प्रतिवद्धता-पत्र सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन मार्फत लोकतान्त्रिक प्यानलले २६ बुँदे प्रतिवद्धता-पत्र सार्वजनिक गरेको हो ।
टेक नारायण भुषालको नेतृत्वमा यसअघि नै उम्मेदवारी घोषणा गरीसकेको लोकतान्त्रिक प्यानलले “शुद्ध, सफा र प्रशोधित पानी, युवा नेतृत्व र कोहलपुरमा सहज खानेपानी” नारा सहित आफ्ना उम्मेदवारहरुलाई चुनावी मैदानमा उतार्ने भएको छ ।
लोकतान्त्रिक प्यानलद्धारा सार्वजनिक गरीएको प्रतिवद्धता-पत्रमा पारदर्शिता, जवाफदेहिता, मितव्ययिता र आर्थिक सुशासनको प्रत्याभुती दिलाउने मुख्य लक्ष्य राखेको बताईएको छ । त्यसैगरी संस्थाको कार्यक्षेत्र बिस्तार गरीने, भेरी-बबई डाईभर्सन र राप्ती नदिको पानी कोहलपुरमा ल्याई पानीको अभाव अन्त्य गरीने, १५ वटा डिप बोरिङ्ग र ५ वटा ओभर हेड पानी ट्याङ्की थप गरीने, सार्वजनिक स्थलमा नि:शुल्क खानेपानीको ब्यवस्था मिलाईने, हरेक वडामा खानेपानीको पाईपलाईन बिस्तार गरीने, गरीबीको रेखामुनी रहेका परिवार र मुक्तकमैयाको पहिचान गरी नि:शुल्क धारा जडान गरीने प्रतिवद्धता जाहेर गरीएको हो ।
त्यसैगरी मौसम अनुसार तातो र चिसो पानीको ब्यवस्था मिलाईने, पानीमा TDS को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कायम गरीने, संस्थाका गतिविधि तथा लेखा सम्बन्धि बिवरण ६/६ महिनामा सार्वजनिक गरीने, बिगतमा भएका नतियमिततामा दोषी ठहरीएकालाई कारबाही गरीने, धारा जडान भएका तर पानीको उपभोग नगरेर बिल तिर्न बाध्य उपभोक्ताको बिल मिनाहा गरीने र बाटोको दुबैतर्फ पाईपलाईन बिस्तार गरेर ३ सय मिटरको दुरीमा कन्ट्रोलप्लेस राख्ने योजना प्रतिवद्धता-पत्रमा उल्लेख गरीएको छ ।
प्यानलको प्रतिवद्धता-पत्र सार्वजनिक गर्दै अध्यक्ष पदका उम्मेदवार भुषालले संस्थालाई भ्रष्ट्राचारमुक्त बनाउन कुनै कसर बाँकी नराख्ने बताए । उनले संस्थाको गुमेको साख जोगाउने दायित्वबोधका साथ आफ्नो टिम निर्वाचनको मौदानमा होमिएको भन्दै बिजयी हुनेमा विश्वास समेत ब्यक्त गरे । साथै उनले संस्थाबाट कुनै पनि प्रकारको सेवा सुविधाको नलिने प्रतिवद्धता जनाएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्कीले कोहलपुरका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउनका लागि भुषाल नेतृत्वको टिमले काम गर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस क्षेत्र नं. १ का सभापति पोषण केसीले पानी मानविय जीवनको आधारभूत पक्ष भएकाले जनतालाई सहज रुपमा पानी उपलब्ध गराउन सक्ने क्षमता भएको नेतृत्व आजको आवश्यक रहेको भन्दै भुषाल नेतृत्वको प्यानलाई जिताउन आग्रह गरे ।
खानेपानीको निर्वाचन यहि साउन १२ गते हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
लोकतन्त्रिक प्यानलका उम्मेदवारहरु:
अध्यक्ष : टेक नारायण भुषाल
उपाध्यक्ष : बिर बहादुर विष्ठ
सचिव : गोविन्द वाग्ले
कोषाध्यक्ष : धुर्व प्रसाद आचार्य
सह-सचिव : बालकुमारी सापकोटा
सह-कोषध्यक्ष : ईश्वरी शर्मा
सदस्य : झग्गु प्रसाद वली
सदस्य : चक्र दिप शाह
सदस्य : आशा घर्ति मगर
सदस्य महिला : दिपा बस्नेत
सदस्य महिला : टिकादेवी सुनार
५ श्रावण २०८०, शुक्रबार १८:२२ प्रकाशित