५ साउन, काेहलपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९-८० मा दुई करोड ६२ लाख राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने ४३ हजार आठ सय ३८ सवारीसाधनका चालकलाई कारबाही गरी सो रकम असुल गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक तिलक सुनारका अनुसार ट्राफिक प्रहरीले चालकका लागि चेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । “जरिवाना मात्रै गर्दैनौँ, चालकबाट नियम उल्लङ्घन नहोस् भनेर चेतनामूलक अभियानसमेत सञ्चालन गर्दै आएका छौँ”, उनले भने । गत आवमा कार्यालयले सात सय ७३ वटा सचेतना कक्षा सञ्चालन गरेको थियो । कक्षामा ३४ हजारभन्दा बढी सवारीचालक, यात्रु र विद्यार्थी सहभागी भएको प्रहरी निरीक्षक सुनारले बताए ।
यस्तै आव २०७९-८० मा जिल्लामा एक सय २४ सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा परी ६० जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा एक सय २९ जना घाइते भएका थिए । सडक दुर्घटनामा परी १० पशुचौपायासमेत मरेका प्रहरी निरीक्षक सुनारले जानकारी दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आवमा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने दुई हजार आठ सय ५५ चालकलाई कारबाही गरेको थियो । उनीहरुबाट रु. २८ लाख ५५ हजार राजस्व सङ्कलन भएकाे सुनारले जानकारी दिए ।
५ श्रावण २०८०, शुक्रबार ०९:१४ प्रकाशित