४ साउन, नेपालगन्ज । बाँकेमा जग्गाको सरकारी मूल्य प्रतिकठ्ठा १३ लाख रुपियाँसम्म वृद्धि गरिएको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको अध्यक्षतामा बसेको घरजग्गा न्यूनतम मूल्य निर्धारण समितिको बैठकले नेपालगञ्ज उपमहानगरको जग्गालाई ‘क’ देखि ‘छ’ सम्म वर्गीकरण गरेर मूल्य निर्धारण गरेको हो ।
बैठकले बाँकेका आठ वटै स्थानीय तह अन्तर्गत जग्गाको न्यूनतम मूल्याङ्कन गर्दै मूल्य वृद्धि गरेको छ । सरकारी मूल्याङ्कन अनुसार सबैभन्दा बढी मूल्य नेपालगञ्जको रहेको छ ।
घरजग्गाको न्यूनतम मूल्य निर्धारण समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी आचार्यले आर्थिक वर्ष २०८०/०८१ का लागि नेपालगञ्ज उपमहानगरपालिका भित्रको क वर्गमा पर्ने जग्गाको न्यूनतम मूल्य प्रतिकठ्ठा ९९ लाख ६५ हजारसम्म कायम गरिएको बताए । उनका अनुसार यो अघिल्लो आर्थिक वर्षको तुलनामा १३ लाखले बढी हो ।
आर्थिक वर्ष २०७९/८० मा ८६ लाख ६५ हजार प्रतिकठ्ठा कायम गरिएको थियो भने आर्थिक वर्ष २०७८/०७९ मा सो जग्गाको मूल्य प्रतिकठ्ठा ६८ लाख ७७ हजार कायम गरिएको थियो । आर्थिक वर्ष २०८०/०८१ का लागि ख वर्गको क्षेत्रमा प्रतिकठ्ठा मूल्य ६७ लाख ८५ हजार रुपियाँ तोकिएको छ । आव २०७९/८० का लागि ख वर्गको क्षेत्रमा प्रतिकठ्ठा ५९ लाख रुपियाँ न्यूनतम मूल्य तोकिएको थियो ।
सोही प्रकारले आर्थिक वर्ष २०७८/०७९ मा ख वर्गको जग्गाको मूल्य प्रतिकठ्ठा ४८ लाख ९३ हजार कायम गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिकामा आर्थिक वर्ष २०८०/८१ का लागि ग वर्गको क्षेत्रमा प्रतिकठ्ठा ४८ लाख ९५ हजार, घ वर्गको प्रतिकठ्ठा ३१ लाख ६० हजार, ङ वर्गको पक्की सडकसँग जोडिएको जग्गाको प्रतिकठ्ठा ३० लाख ३५ हजार, ग्राभेल बाटोसँग जोडिएको प्रतिकठ्ठा २९ लाख २० हजार रुपियाँ कायम गरिएको छ ।
अघिल्लो आवमा ग वर्गमा ४४ लाख ५० हजार प्रतिकठ्ठा, घ वर्गको क्षेत्रमा २८ लाख ७५ हजार, ङ वर्गको २७ लाख ६० हजार र प्रतिकठ्ठा २६ लाख ५० हजार रुपियाँ रहेको थियो ।सोही प्रकारले चालु आवका लागि च वर्गको प्रतिकठ्ठा २६ लाख ६० हजार र छ वर्गको १२ लाख ३० हजार प्रतिकठ्ठा कायम गरिएको समितिले जनाएको छ । अघिल्लो आवमा च वर्गको जग्गा प्रतिकठ्ठा मूल्याङ्कन २४ लाख २० हजार र छ वर्गको जग्गा ११ लाख ७० हजार रुपियाँ प्रतिकठ्ठा कायम गरिएको थियो ।
मूल्य निर्धारण समितिका अनुसार साबिक बहाल विटौरी वा बेलगती जग्गा हाल नयाँ नापीबाट कायम हुन आएको र अन्य वडाहरूको जग्गा मेन रोडमा ९५ लाख ५० हजार प्रतिकठ्ठा, ग्राभेल बाटोमा ६७ लाख ८० हजार प्रतिकठ्ठा र कच्ची बाटोमा ४० लाख ६५ हजार रुपियाँ प्रतिकठ्ठा कायम गरिएको छ ।
त्यस्तै, क देखि छ वर्गमा नपर्ने जग्गा बाहेक र कुनैपनि सडकमा नपर्ने खेती प्रयोजनको जग्गालाई प्रतिकठ्ठा ४ लाख १२ हजार मूल्य निर्धारण गरिएको छ । जिल्लामा जग्गाको सरकारी मूल्याङ्कनभन्दा वास्तविक किनबेचको मूल्याङ्कन भने निकै बढी रहेको छ । सोही आधारमा जग्गाको कारोबार बढी हुने गरेको छ ।
-गोरखापत्रबाट
४ श्रावण २०८०, बिहीबार १९:०९ प्रकाशित