बाँकेमा टिभिआरएस प्रणाली लागु, जरिवाना अनलाइनमार्फत भुक्तान गर्न सकिने
  • काँचुली खबर

२ साउन, नेपालगन्ज । बाँकेमा ट्राफिक नियम उल्लङ्घन, सवारी दुर्घटना र मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरूसँग सङ्कलन हुने जरिवाना राजश्व अनलाइनमार्फत सिधै बैङ्कमा जम्मा गर्न सुरु गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले साउन १ गतेबाटै लागू हुनेगरी ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टमबाट राजश्व सङ्कलन सुरु गरेपछि अनलाइनमार्फत सिधै बैङ्कमा रकम जम्मा गर्न थालिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक तिलक सुनारले जिल्लामा पहिलो पटक ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टमबाट राजश्व उठाउन थालिएकाले अहिले ठाउँ-ठाउँबाट जरिवाना सङ्कलन भइरहेको बताए ।

उनका अनुसार बाँकेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुर, अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगन्ज र चिसापानीमा ट्राफिक प्रहरीबाट हुने कारबाही तथा राजश्व ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टमबाट जम्मा हुन थालेपछि अनलाइन इ-सेवा, फोन पे, कनेक्ट आइपीएस र मोबाइल बैकिङ्गबाट जम्मा गर्ने कार्य सुरु भएको छ ।

प्रहरी निरीक्षक सुनारले अनलाइनबाट भुक्तानी गर्न इच्छुक नभएका व्यक्तिहरूले राष्ट्रिय वाणिज्य बैङ्कमा भौचरमार्फत रकम भुक्तान गरी ट्राफिक प्रहरीको सम्बन्धित कार्यालयमा राखिएका आफ्ना कागजपत्र लिन सक्ने बताए ।

बाँके ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि विभिन्न प्रकारका सचेतनामूलक कार्यक्रम समेत गर्दै आएको छ भने बढी दुर्घटना हुने र बढी यातायात चल्ने ठाउँहरूमा विशेष निगरानी बढाइएको जनाएको छ ।

सोही उद्देश्यका लागि पहिलो पटक जिल्लामा लागू पदार्थ सेवन गरेर सवारी चलाउनेहरूको पनि चेकजाँच सुरु गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थको सेवनमा परेका व्यक्तिहरूले आफ्ना कागजात लिनका लागि प्रत्येक दिन हुने कक्षामा अनिवार्य सहभागिता हुनुपर्ने छ । सो कक्षा दैनिक बिहान ८ बजे सञ्चालन हुँदै आएको समेत जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

विशेष गरी नेपालगन्ज र कोहलपुरको ट्राफिक व्यवस्थापनका लागि स्थानीय सरकार र नागरिक समाजसँग मिलेर विभिन्न सुधारात्मक कामहरू सुरु गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

  • २ श्रावण २०८०, मंगलवार १४:०८ प्रकाशित
  • Nabintech