एसीसी इमर्जिङ कप : नेपाल आज भारतसँग भिड्दै
  • काँचुली खबर

१ साउन, काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल सोमबार भारतसँग खेल्दैछ । नेपाल र भारतबीचको खेल दिवा-रात्रि हुनेछ । खेल नेपाली समय अनुसार, दिउँसो २ बजेर १५ मिनेटमा सुरु हुनेछ । टेस्ट राष्ट्र भारतले प्रतियोगितामा आफ्नो ‘ए’ टोली सहभागी गराएको छ ।

ँयसअघि गत शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र पाकिस्तानको ‘ए’ टोलसँग चार विकेटले पराजित भएको थियो । उक्त खेलमा नेपालको ब्याटिङ अत्यन्तै निराशाजनक रहेको थियो । नेपालले फिल्डिङमा पनि सुधार गर्नु पर्ने देखिन्छ । भारतले भने आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिटरेट्स (यूएई) को ‘ए’ टोलीलाई हराएको थियो ।

इमर्जिङ टिम्स एसिया कप श्रीलङ्कामा सञ्चालन भइरहेको छ । जुलाई २३ तारिखसम्म चल्ने उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र यूएईको ‘ए’ टोली रहेका छन् ।

समूह ‘ए’ मा भने श्रीलंकाको ‘ए’ टोली, बंगलादेशको ‘ए’ टोली, अफगानिस्तानको ‘ए’ टोली र ओमानको ‘ए’ टोली रहेका छन् । समूह ‘ए’ मा चारवटै टोलीले दुई-दुई खेल खेलिसकेका छन् । अफगानिस्तान आफ्नो दुवै खेल जित्दै चार अङ्कसहित तालिकाको पहिलो स्थानमा आसीन छ ।

अफगानिस्तानले पहिलो खेलमा ओमानलाई ७२ रनले हराएको थियो । आफ्नो दोस्रो खेलमा अफगानिस्तानले श्रीलङ्कालाई ११ रनले हराएको थियो । बंगलादेश एक जित र एक हारबाट दुई अङ्क बटुलेर तालिकाको दोस्रो स्थानमा छ ।

श्रीलङ्कासँग ४८ रनले पराजित भएको बंगलादेशले दोस्रो खेलमा ओमानलाई आठ विकेटले हराएको थियो । एक जित र एक हारबाट दुई अङ्क जोडेको श्रीलङ्का तेस्रो स्थानमा छ । दुवै खेलमा पराजित भएको ओमान चौथो स्थानमा छ ।

समूह ‘बी’ मा भने चारवटै टोलीले एक-एक खेल खेलेका छन् । दुई अङ्कसहित भारत पहिलो, समान अङ्क भएको पाकिस्तान दोस्रो, खाता खोल्न नसकेको नेपाल तेस्रो र यूएई चौथो स्थानमा आसीन छन् । सोमबार नै पाकिस्तान र यूएईबीच खेल हुनेछ । उक्त खेल विहान १० बजेर १५ मिनेटमा सुरु हुनेछ ।

  • १ श्रावण २०८०, सोमबार १०:०९ प्रकाशित
  • Nabintech