२३ असार, कोहलपुर । २०५७ सालमा ३६ जना पूर्व ब्रिटिस आर्मी, सिंगापुर पुलिस र केही हाल बहालवाला आर्मी र पुलिस मिलेर बाँकेको कोहलपुरमा गोरखा गोरखा युनाइटेड पब्लिक स्कुल स्थापना गरे । विशेषगरी सैनिकका छोराछोरीहरुकालागि स्थापना गरीएको उक्त विद्यालय पछिल्लो समय पश्चिम नेपालकै गुणस्तरीय शैक्षिक केन्द्रका रुपमा स्थापित हुँदै गएको छ ।
कोहलपुर नगरपालिका वडा नं. २ मा अवस्थित उक्त विद्यालयले गर्विलो ईतिहास बोकेको छ । २०५६ मा विद्यालयका संस्थापक अध्यक्ष तथा सञ्चालक समितिका अध्यक्ष केशर बहादुर आलेको नेतृत्वमा विद्यालयको आफ्नै भवनकालागि जग्गा खरिद गरीएको थियो । जग्गा खरीद गरी संरचना निर्माण भएलगत्तै शैक्षिक सत्र २०५७ मा कक्षा ५ बाट कक्षा सञ्चालन गरेको विद्यालयले अहिले स्नातक तहसम्मको कक्षा संचालन गर्दै आएको छ ।
विद्यालयका संस्थापक आलेका अनुसार १६५ जना विद्यार्थी र आठ जना शिक्षक कर्मचारीबाट स्कुल सुरु गरीएको थियो । हाल विद्यालयमा १७ सय जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । २०५८ मा ८ कक्षा र २०५९ मा कक्षा ९ सम्मको अनुमती प्राप्त गरेको गोरखा युनाइटेडका विद्यार्थीहरूले २०६० सालमा पहिलो ब्याचका रुपमा एसएलसीमा सहभागीता जनाउने अवसर पाएका थिए ।
विद्यालयले २०६५ मा विज्ञान संकाय तर्फ आइएससी विज्ञान विषय अध्यापन गराउन सुरु गरेको हो । २०६६ मा प्लस टु तर्फ व्यवस्थापन सङ्कायमा पढाइ सुरु भएको गोरखामा २०७४ सालबाट स्नातक तहमा कृषितर्फ बिएस्सी पढाइ भइरहेको छ ।
२०५७ सालदेखि निरन्तर सञ्चालक अध्यक्षको भूमिकामा रहेका आले विद्यालयको शैक्षिक गुणस्तर सुधारकालागि निरन्तर क्रियाशिल रहँदै आएका छन । विद्यालयका लगानीकर्ताहरू अधिकांश बेलायतमा छन् । नेपालमा करिब ५-७ जना मात्रै लगानीकर्ताहरू रहेका छन् । ती मध्येका एक हुन्, आलेमगर ।
प्रिन्सिपलको रुपमा साधना थापाले विद्यालयको समग्र ब्यवस्थापकीय पक्ष सम्हालीरहेकी छन । त्यसैगरी कृषितर्फ बिएस्सीमा क्याम्पस प्रमुखका रुपमा प्राध्यापक इश्वरीचन्द्र प्रकाश तिवारीले नेतृत्व गरिरहेका छन् ।
विद्यालय स्थापनादेखी अहिलेसम्मको अवस्थामा पुग्न धेरै उतारचढाव पार गर्नुपरेको बताउँछन, विद्यालयका संस्थापक तथा संचालक समिति अध्यक्ष आले । स्थापनाका दुई दशकमा विद्यालयले लोभलाग्दो प्रगती गर्नुमा आफ्नो टिमकासाथै शिक्षक, कर्मचारी र विद्यार्थीहरुको लगातारको लगनशीलता नै प्रमुख रहेको आलेको बुझाई छ । गोरखामा बालबालिका अध्ययन गराउन शक्तिकेन्द्र समेत लाग्ने गरेका छन् ।
संस्थापक तथा सञ्चालक समितिका अध्यक्ष आलेमगर आफूहरूको निकै ठूलो प्रयास र कडा मेहनतका लागि यो स्थानसम्म आइपुगेको बताउँछन् । उनका अनुसार कुनैपनि लगानीकर्ताहरूले एक रुपैयाँ पनि नाफा लिएका छैनन् । वार्षिक रुपमा भएको नाफा विद्यालय मै लगानी हुन्छ । अहिले विद्यालयको नाममा ९ बिगाहा जग्गा रहेको छ ।
आलेले आगामी शैक्षिक सत्रबाट कक्षा नर्सरी देखि कक्षा पाँचसम्म फोनबाट अध्यापन सुरु गर्ने तयारी भईरहेको बताए । यसका साथै विद्यालय प्राङ्गणभित्रै विद्यार्थीहरूकालागी स्विमिङ पुल र शिक्षक कर्मचारीहरूकालागी जिम हाउस स्थापना गर्ने योजना सहितको पञ्चवर्षीय योजना समेत तयार पारीएको आलेले बताए । आगामी पाँच वर्षमा गोरखा युनाइटेड पब्लिक स्कुल सम्पूर्ण रुपमा डिजिटल स्कुल बन्ने दाबी गर्दै आलेले स्मार्ट बोर्ड टिचिङसहित नर्सरीदेखि स्नातक तहसम्म व्यवहारिक शिक्षा लागू गरीने बताए ।
विद्यालयको पञ्चवर्षीय योजना सुनाउँदै आलेमगर भन्छन्, “गोरखामा नर्सरीदेखि युकेजीमा विद्यार्थीले किताब बोकेर स्कुल आउनु पर्दैन । पाठ्यक्रमको कन्सेप्टमा शिक्षकले पुस्तक तयार गरेर व्यवहारिक र प्रविधिमैत्री रुपमा शिक्षा प्रदान गर्नेछन् ।” उनका अनुसार २०८० सालको सुरु नै योजना कार्यान्वयनको चरणमा पुगिसकेको छ । विस्तारै माथिल्ला कक्षाहरूमा समेत योजना लागू हुनेछ ।
पञ्चवर्षिय योजना अनुसार २०८१ सालसम्म १ देखि ५ कक्षासम्म उक्त योजना पूर्ण रुपमा कार्यान्वयन गरीने विद्यालय प्रशासनले जनाएको छ । आगामी पाँच वर्षभित्र १२ कक्षासम्म उक्त योजनालाई विस्तार गर्दै लगिने बताइएको छ ।
तल्लो कक्षाका विद्यार्थीहरूले झोला र किताब बोक्न नपर्ने, सिनियर कक्षाहरूमा होमवर्क र प्रयोगात्मक कामसबै प्रविधिको प्रयोग गर्दै इमेल मार्फत गर्न सकिने गरी प्रविधिमैत्री शिक्षण विधि समेत लागु गर्ने तयारी भईरहेको विद्यालयले जनाएको छ ।
गोरखाका ९० प्रतिशत विद्यार्थी रोजगार
गोरखा युनाइटेड पब्लिक स्कुलमा अहिले अध्ययन गरिरहेको २१औं ब्याच हो । नर्सरीदेखि कक्षा १० सम्म अहिलेसम्म १७ सय भन्दा बढी विद्यार्थी पासआउट भइसकेका छन् । प्लस टु तर्फ २०६५ देखि हालसम्म १३ सय जना पासआउट भइसकेका छन् । यहाँ अध्ययन गरेकाहरू विश्वविद्यालयहरूमा प्रोफेसरसम्म बनीसकेको विद्यालयका संस्थापक तथा सञ्चालक समितिका अध्यक्ष केशर बहादुर आलेले बताए ।
स्नातक तहमा बिएस्सीएजी कार्यक्रम संचालन गरेको गोरखा स्कुलको सहसंस्थाका रुपमा गोरखा पोलिटेक्निक एण्ड रिसर्च सेन्टर समेत संचालनमा रहेको छ । यो गोरखा युनाइटेड पब्लिक स्कुलको एउटा युनिट पनि हो । यो स्नातक तह पढाइ हुने कलेज पनि हो । यहाँ बिएस्सीएजी अध्यापन हुन्छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट २०७५ सालमा सम्बन्धन प्राप्त गरेको उक्त कलेजमा ५० जना विद्यार्थीको कोटा रहेको छ । क्याम्पस प्रमुख प्रोफेसर इश्वरी चन्द्र प्रकाश तिवारी अहिले सातौं सेमेस्टर पढाइ भइरहेको बताउँछन् ।
उनी भन्छन्, “कृषि नेपालको मेरुदण्ड हो, कृषि विना जिविकोपार्जन सम्भव छैन । बढ्दो जनसङ्ख्याको भरणपोषण हो । गाँसको लागि आवश्यक हो । रोजगारमूलक शिक्षाका लागि कृषि अध्ययन भइरहेको छ ।”
अहिले कलेजमा चार वटा ब्याच रहेका छन् । सातौं ब्याच इन्टर्नसिप गरिरहेको छ । उनीहरूले ६ महिनाको इन्टर्नसिप गर्नुपर्छ । यसमा सात जना विद्यार्थी रहेका छन् । अर्को ब्याचले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा प्रयोगात्मक रुपमा काम गरिरहेको तिवारीले जानकारी दिए ।
२३ असार २०८०, शनिबार १८:२३ प्रकाशित