यो हो विश्वकै महंगो गाई, मूल्य ५६ करोड रुपैयाँ
  • काँचुली खबर

१८ असार, एजेन्सी । साढे चार वर्षको एउटा गाई विश्वकै सर्वाधिक महँगो गाई बनेको छ । नरोल जातको भियाटिना-१९ एफआईभी मारा इमोभेइस नामको उक्त गाईको मूल्य ४.३ मिलियन डलर (५६ करोड रुपैयाँ बढी) तोकिएको छ ।

गाईको एक तिहाइ स्वामित्व हालै ब्राजिलको अरान्डुमा भएको लिलामीमा १.४४ मिलियन डलरमा बेचिएको छ । यो गाईलाई गत वर्ष नै संसारको सबैभन्दा महँगो गाईको नाम दिइएको थियो । त्यति बेला यसको आधा स्वामित्व लगभग ८ लाख डलरमा लिलामी गरिएको थियो । त्यस बेला पनि यो ऐतिहासिक मूल्य नै थियो । यो रेकर्ड ब्रेक गर्ने कारोबारले नरोल जातको गाईबस्तुको उच्च मागको सङ्केत गर्दछ ।

नरोल जातको गाई भारतको आन्ध्र प्रदेशको नेल्लोर जिल्लाको नामबाट नामकरण गरिएको हो । यसको निकै उत्कृष्ट मेटाबोलिजम हुन्छ । निकै कम खानामा पनि यो बाँच्न सक्छ । यसको छाला असाध्यै बलियो र बाक्लो हुने भएकोले सङ्क्रमणबाट पनि सजिलै जोगिन सक्छ । यसको छालामा किराहरूले टोक्न सक्दैनन् । यसको प्रजनन पनि निकै सजिलै हुन्छ । यो जातको गाईको शारीरिक बनावट प्रजननको हिसाबले निकै राम्रो छ । यसको बाछो हुर्काउन मानिसको खासै सहयोग चाहिँदैन ।

  • १८ असार २०८०, सोमबार १२:४२ प्रकाशित
  • Nabintech