५ जेष्ठ २०८१, शनिबार
पार्टी एकताका लागि ठोस पहल हुँदैछ : प्रधानमन्त्री प्रचण्ड
  • काँचुली खबर

१६ असार, पोखरा । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन ।

शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले उक्त कुुरा बताएका हुन ।

प्रचण्डले भने, “माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ । हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ । त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो । त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरूरी छ ।”

“हामीभित्र मात्र थपघट गरेर पार्टी पुनर्निर्माण हुँदैन । यसपटक सरकारको नेेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ” प्रधानमन्त्री प्रचण्डले भने “त्यसका लागि नयाँ ढंगले सोच्दैछौँ । हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ । जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ, त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ ।”

“हामीले राम्रो गर्न खोज्दैछौँ । सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेको छ, त्यसलाई सफा नगरी देश बन्दैन” प्रधानमन्त्रीले भने, “देश निर्माणका लागि फेरि नयाँ फड्को जरूरी छ । सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा फड्को हान्न खोजिएको छ । यसमा हामी दृढतापूर्वक अघि बढ्नुपर्छ। सरकार यसमा दृढ छ ।”

प्राकृतिक साधनस्रोत उपयोग गरेर देशको समुन्नतिका पक्षमा फड्को हान्न सकिने बताउँदै प्रधानमन्त्रीले भने, “यसका लागि के-कसरी काम गर्न सकिन्छ, यतातर्फ पनि सबैले सोचौँ । पार्टीका सबै नेता-कार्यकर्ताले देशको समृद्धिको पक्षमा काम गर्ने संकल्प गरौँ ।”

पार्टि पुननिर्माणकालागि छिट्टै विशेष महाधिवेशन गर्ने तयारी भईरहेकाे बताउँदै प्रचण्डले भने, “सरकारका कामको व्यवस्थित स्वामित्व, पार्टी निर्माणको काम, समाजवादी मोर्चा र पार्टी एकताको प्रयासलाई सँगसँगै लैजानुपर्छ ।”

  • १६ असार २०८०, शनिबार १०:१२ प्रकाशित
  • Nabintech