१४ असार, नेपालगन्ज । बाँकेको नेपालगन्जमा ५० बिघा क्षेत्रफलमा ग्रिन सिटी निर्माण सुरु गरीएको छ । स्वच्छ वातावरणसँगै चारैतिर हरियाली देखिनेगरी नेपालगन्जमा एक हजार घरधुरीको ‘नेपालगन्ज ग्रिन सिटी’ को निर्माण सुरु गरिएको हो ।
कालीका हाउजिङ प्रालिद्धारा नेपालगन्ज-६ स्थित हरियाबाबारोड रामनगरमा निर्माणाधीन सो ग्रिन सिटीका परियोजना निर्देशक इरसाद राईले नेपालगन्ज १३ र १४ मा ५० बिघा क्षेत्रफलमा निर्माण गर्नेगरी हाल २५ बिघामा निर्माण सुरु गरिएको जानकारी दिए ।
बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै सहरभन्दा अलग एकान्त तथा मनोरम वातावरणसहितको ग्रिन सिटी निर्माण हुन थालेको जनाउँदै कुल पाँच अर्ब लगानीमा सो सिटी निर्माण भइरहेको बताए ।
परियोजना निर्देशक राईका अनुसार एक हजार घरधुरी रहेको सो हरियो सहरमा बैङ्क र ठुला अस्पतालसँगै वातावरणमैत्री उद्योग र कलकारखाना पनि सञ्चालन गरिनेछन् । त्यसका लागि काठमाडौं र भारतीय अस्पताललाई लगानी गर्न अनुरोध गरिएको छ । उक्त ग्रिन सिटीभित्र व्यावसायिक मार्केट पनि हुनेछ ।
कालीका हाउजिङ प्रालिले सो सिटी पश्चिमनेपालकै आधुनिक र व्यवस्थित तथा उत्कृष्ट सुविधा सम्पन्न सिटी हुने दाबी गरेको छ । प्रालिका अनुसार प्रत्येक घरधुरीलाई घरआङ्गनका बिरुवा रोप्न प्रोत्साहन गरिनेछ । स्वच्छ हरियालीसहित परिदृश्यको लागि ३५ प्रतिशतभन्दा बढी भूमि छुट्याई हरियाली सहरलाई प्रोत्साहन गरिएको छ । मौसम अनुकूल हावापानीलाई सामना गर्न साइड प्लानिङ पनि गरिएको छ ।’
कम्पनीले कुशल योजनासहित पूर्वाधार लागतलाई न्यूनतम बनाइ साइड प्लानिङ गरिएको जनाएको छ । शान्त, स्वच्छ तथा हरियाली वातावरणमा अवस्थित रहेको सो सिटीमा घडेरी र घर किनमेल समेत सुरु भएको छ ।
ग्रिन सिटी परियोजनाका निर्देशक राईले नेपालकै नमुना बस्ती बनाइने सो सिटीमा आफ्नै कम्पाउण्डभित्र स्कुल, कलेज, हस्पिटल, व्यावसायिक योजना हुनेछन् । उनका अनुसार ग्रिन सिटीभित्रै बसोबास गर्ने जनशक्तिलाई लक्षित गरी रोजगार दिने उद्देश्यले विभिन्न वातावरणमैत्री उद्योग तथा कलकारखाना खोलिने योजना समेत रहेको छ ।
गोरखापत्रबाट
१४ असार २०८०, बिहीबार ११:५४ प्रकाशित