नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
  • काँचुली खबर

९ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दैछ ।

टाकासिंगा स्पोर्टस् क्लबमा टस जितेर नेदरल्यान्ड्सले पहिले बलिङ रोजेको हो । नेदरल्यान्ड्सले बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो । नेपालले गत बिहीबार वेस्ट इन्डिजविरुद्ध खेलेको टोलीमा कुनै परिर्वतन गरेको छैन ।

सुपर सिक्समा पुग्न नेपालले नेदरल्यान्ड्सलाई हराउन बाहेक कुनै विकल्प छैन । विजयी भएमा सुपर सिक्समा पुग्ने उच्च सम्भावना हुनेछ । अन्तिम खेलमा नेदरल्यान्ड्सले सोमबार वेस्ट इन्डिजसँग पनि हार्नुपर्ने हुन्छ ।

यदि नेपाल पराजित भएको खण्डमा समूह चरणबाटै बाहिरिने पक्का हुनेछ ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार व्येहोर्न पुगेको थियो ।

नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाललाई हराउँदा नेदरल्यान्ड्स औपचारिक रुपमा सुपर सिक्समा पुग्नेछ ।

दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेदरल्यान्ड्ससँग नेपाल पराजित भएको थियो । पछिल्लो समय नेदरल्यान्ड्सले टेस्ट टोली सहभागी सुपर लिग खेलेको थियो । हालसम्म नेपाल र नेदरल्यान्डबीचमा २ ओडिआई खेल भएको छ । २ मध्ये १ खेलमा नेपालले र अर्को खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो ।

नेपालको प्लेईङ-११

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी

  • ९ असार २०८०, शनिबार १२:३९ प्रकाशित
  • Nabintech