१६ बैशाख २०८१, आईतवार
कृषिमा लगानी बढाउन खजुरा गाँउपालिकालाई सरोकारवालाको सुझाव
  • काँचुली खबर

४ असार, नेपालगन्ज । खजुरा गाँउपालिकालाई कृषि हबका रुपमा विकास गर्नुपर्ने सरोकारवालाले सुझाव दिएका छन । आइतबार खजुरा गाउँपालिकाले अयोजना गरेको आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र बजेट निर्माणमा सरोकारवालासँगको सुझाव संकलन कार्यक्रममा पालिकाले कृषिमा जोड दिनु पर्ने सुझाव दिइएको हो । खजुराले कृषिमा २० प्रतिशत बजेट छुुट्याउनु पर्ने सरोकारवालाले जोड दिए ।

कार्यक्रममा प्रमुख अथिति रहेका लुम्बिनी प्रदेश सभा सदस्य बादशाह कुर्मीले आगामी आर्थिक वर्षमा खजुराले कृषिलाई प्राथमिकता दिँदै प्रत्येक किसानको पहुँचमा विद्युत् पुर्याउनु पर्ने बताए । ‘हामीले व्यवसायी कृषितर्फ ध्यान दिनु पर्छ,’ कुर्मीले भने, ‘खजुराले पालिकामा भएका हरेक किसानको पहुँचमा विद्युत्, सिँचाइ, बीउ विजन पुर्याउनु पर्छ र किसानले उत्पादन गरेका वस्तुहरुको बजारीकरणमा ध्यान दिनु पर्छ ।’

त्यस्तै कुर्मीले खजुराको वडा नम्बर १ देखि ४ र ५ देखि ८ नम्बर वडामा फरक समुदाय र वातावरण रहेको बताउँदै पालिकाले लक्षित वर्गलाई समेटने बजेट ल्याउनु पर्ने बताए । साथै खजुराले न्यायिक क्षेत्रमा सक्रिय हुनु पर्नेसमेत कुर्मीले बताए ।

त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्रीले एक किसान एक उत्पादनमा खजुराले जोड दिनु पर्ने बताए । ‘हामीले भौतिक पूर्वाधारलाई मात्र विकास भन्दै गर्दा मानविय विकासलाई चासो दिएनौं । हामीले कृषि क्षेत्रलाई जोड दिँदै यसलाई बजारिकरण कसरी गर्ने भन्नेतर्फ केन्द्रित गर्नु पर्छ,’ खत्रीले भने बजेट पहुँचका आधारमा नभइ आवश्यकताका आधारमा विनियोजन गर्नु पर्ने बताए ।

खत्रीले टुक्रे योजनालाई पालिकाले निरुत्साहित गर्नु पर्ने बताउँदै ३० लाख रुपैयाँभन्दा माथिका योजना प्रदेश सरकारले गर्ने र पालिकाले कमसेकम ५ लाख रुपैयाँभन्दा माथिका योजना बनाउनु पर्ने उनले सुझाव दिए ।

यसैगरी कार्यक्रममा उपस्थित सहभागीले खजुरामा पशुपालनको सम्भावना बढी रहेकाले कृषि तथा पशुपालनमा जोड दिनु पर्ने बताए । उनीहरुले खजुराका किसानलाई सिँचाइको धेरै समस्या रहेको, उत्पादन क्षेत्रमा कृषिका तालिम संचालन गर्नु पर्र्ने, किसानको क्षेत्रमा ट्रासफर्म, मोटर, सिँचाइ, मल, बीउ विजनको सहजता बनाउनु पर्ने बताए ।

यस्तै कार्यक्रममा वडा नम्बर ५, ६, ७ र ८ मा विद्यालय भर्ना दर कम रहेको र सो क्षेत्रमा कुपोषणको समस्या रहेको, पालिका लागूऔषध दुव्र्यशनीको समस्या बढ्दै गएको, खजुरामा सामाजिक विकास कम रहेका जस्ता समस्या रहेको सहभागीले बताए ।

साथै सहभागीले आपांग व्यक्तिहरुको आयस्रोत बढाउन पालिकाले योजना बनाउनु पर्ने, असारे विकासलाई अन्त्य गर्नु पर्ने, पालिकाका सबै विद्यालयमा १० प्रतिशत छात्रवृत्तिको व्यवस्थापन गर्नुपर्ने र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालसम्म यातायातको व्यवस्था गर्नु पर्ने सुभाव दिए ।

कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिकले कार्यक्रममा आएका सुभावलाई आगामी योजनामा समेटने बताए । उनले कार्यक्रममा आएका सुझावहरु वैज्ञानिक रहेको र कतिपय योजनाहरु पालिकाले संचालन गरिरहेको बताए ।

  • ५ असार २०८०, मंगलवार १६:५२ प्रकाशित
  • Nabintech