कोहलपुर बसपार्क : संरचना बन्यो तर ठेक्का लागेन
  • काँचुली खबर

४ असार, कोहलपुर । बाँकेको कोहलपुरमा करोडौँ लगानीमा लामो दुरीको बसपार्क निर्माण भयो । कोहलपुरकै महत्वाकाक्षीं योजनाका रुपमा प्रचार गरीएको उक्त बसपार्क निर्माण सम्पन्न भएपनि संचालनमा आउन सकेको छैन । बसपार्कको भैतिक संरचना तयार भएपनि त्यसको ठेक्का लाग्न नसक्दा करोडौंमा बनेको बसपार्क प्रयोगबिहिन हुन पुगेको छ ।

बसपार्क सञ्चालनका लागी पटक पटक टेन्डर आह्वान गरीएको भएपनि संचालनको जिम्मा लिन कुनै व्यवसायी तयार छैनन् । सो बसपार्क निर्माण सम्पन्न भई सञ्चालनका लागी कोहलपुर नगर विकास समितिले हालसम्म ४ पटक टेन्डर आह्वान गरीसकेको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले चौथो पटक ग्लोबल टेन्डर आह्वान गर्दा पनि ठेक्का लाग्न नसकेको बताए । चौथो पटकको टेन्डर सकिन केही दिन बाँकी रहेको उनको भनाई छ ।

कोहलपुर नगर समितिले झण्डै ३० करोड लागतमा लामो दुरीको बसपार्क निर्माण गरेको हो । नगर विकास कोष मार्फत झण्डै २० करोड ऋण र १० करोड नगर विकास समितिको लगानीमा निर्माण सम्पन्न भई गत चैत्र महिनामा पहिलो पटक टेन्डर आह्वान गरिएको थियो ।

समग्र व्यवस्थापन प्रवेश, टिकट काउन्टर, शौचालय र पार्किङ शुल्क भन्दै मुल्य अभिवृद्धिकर बाहेक प्रतिवर्ष न्युनतम मूल्य ९६ लाख ८६ हजार ४ सय राखेर टेन्डर आह्वान गरिएको थियो । तर कुनैपनि व्यवसायी टेन्डर प्रक्रियामा सहभागी भएनन् ।

कोहलपुर ११ मा छोटो दुरीको बसपार्क संचालनमा छ । कोहलपुर नगर विकास समितिले नै निर्माण गरेको सो बसपार्क बागेश्वरी यातायात प्रालिले टेण्डरमा सञ्चालन गरिरहेको छ । मासिक झण्डै २ लाख भाडा तिर्ने गरि सो बसपार्क सञ्चालनमा छ । तर लामो दुरीको बसपार्कको न्यूनतम भाडादर निकै मंहगो भएको भन्दै कुनै ब्यवसायीले त्यसमा हात हाल्ने आँट गर्न सकिरहेका छैनन् ।

बागेश्वरी यातायात प्रालिका महासचिव टंक बस्यालले टेण्डर रकम बढि भएकाले व्यवसायीले हात हाल्ने अवस्था नरहेको बताए । उनले नगरभित्रै एउटा बसपार्क सञ्चालन भईरहेको अवस्थामा अर्को बसपार्क सञ्चालन हुने अवस्था समेत नरहेको बताए । ३ वर्ष अघि मात्रै करोडौँको लागतमा निर्मित छोटो दुरीको बसपार्क सञ्चालनमा छ ।

बसपार्क संचालनमा आउन नसकेपछि त्यसको औचित्यको बारेमा प्रश्न उठ्न थालेको छ । लामो समयदेखी संचालनको पर्खाईमा रहेको उक्त बसपार्क पछिल्लो समय युवा युवतीहरुकालागि टिकटक बनाउने थलोका रुपमा परिणत हुँदै गएको छ ।

  • ४ असार २०८०, सोमबार १९:०७ प्रकाशित
  • Nabintech