६ चैत्र २०८०, मंगलवार
प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता, भ्रमण परिणाममुखी भएको प्रतिक्रिया
  • काँचुली खबर

२० जेठ, काठमाडौं । चार दिने भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार साँझ स्वदेश फर्किएका छन् । शनिबार साँझ उनी नेपाल वायु सेवा निगमको विमानबाट काठमाडौं आएका हुन् ।

गत बुधबार भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा ऊर्जा ब्यापार सम्झौतालगायत विभिन्न सम्झौता तथा समझदारी भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले प्रतिनिधिमण्डलस्तर र वान अन वान पनि भेटवार्ता गरेका थिए ।

त्यस्तै उनले भारतको इन्दोरमा फोहोर व्यवस्थापन प्रणालीको पनि अवलोकन गरेका थिए । प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा नेपाली समुदायसँग भेट गर्नुका साथै भारतका निजी क्षेत्रका प्रतिनिधिसँग पनि भेटवार्ता गरेका थिए ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल ओर्लिए लगत्तै प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण परिणाममुखी भएको बताएका छन् ।

चार दिने भारत भ्रमण पूरा गरी शनिबार साँझ स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमण विगतका भन्दा परिणाममुखी र कामकाजी भएको बताएका छन् ।

‘भ्रमण विगतको भन्दा परिणाममुखी भएको छ, कामकाजी भएको छ, आर्थिक क्रियाकलाप र द्विपक्षीय सहयोगको क्षेत्रमा बढी केन्द्रित भएको छ’ उनले भने ।

भारत भ्रमणअघि आफूले जे सोचेको त्यो मूलभूत रुपमा पूरा भएको प्रचण्डले बताए । ‘यो भ्रमण जे भनेर गएको थिएँ, मूलभूत रुपमा सोचेको कुरा पूरा भएको छ, केही महत्वपूर्ण दूरगामी सहमति समझदारी भएका छन्’ प्रधानमन्त्री प्रचण्डले भने ।

उनले दुई देशको राजनीतिक नेतृत्व तहमा विश्वासको वातावरण बनेको पनि बताए । ‘ पहिले विश्वासको संकटजस्तो देखिन्थ्यो । नेतृत्व लेभलमा विश्वासको वातावरण बन्यो’ प्रधानमन्त्री प्रचण्डले भने ।

ऊर्जा व्यापारमा लामो अवधिको सम्झौता हुनु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै १० वर्षमा १० हजार मेगावाट विजुली खरिद गर्ने कुरा गर्नु, पारवहन सम्झौता हुनु, रेलमार्ग, पुल निर्माण सुख्खा बन्दरगाह भारतले अनुदानमा बनाउन तयार हुनुजस्ता कुराले विश्वासको वातावरण बनेको उनको भनाइ छ ।

  • २० जेष्ठ २०८०, शनिबार १९:५७ प्रकाशित
  • Nabintech