काठमाडौँ । फ्रान्स यसपटकको विश्वकप च्याम्पियन बनेको छ । पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएशियालार्इ ४-२ गोल अन्तरले हराउँदै २१ औ संस्करणको विश्वकप उपाधी फ्रान्सले जितेको हो । यसअघि फ्रान्सले १९९८ मा विश्वकपकको उपाधि उचालेको थियो। योसँगै विश्व च्याम्पियन फ्रान्सले ३ करोड ८० लाख अमेरिकी डलर सहित १८ क्यारेट सुनको ट्रफी प्राप्त गरेको छ । उपविजेता क्रोएशियाले २ करोड ८० लाख अमेरिकी डलर पुरस्कार हात पारेको छ ।

मस्कोको लुजनिकी स्टेडियममा आइतबार राति भएको भएको फाइनलमा फ्रान्सलार्इ च्याम्पियन बनाउन एन्टिनियो ग्रिजम्यान, केलियन एम्बाम्पे र पाउल पोग्बाले १-१ गोल गरे। भने एक गोल आत्मघाती गोल उपहार पाएको थियो ।
पहिलो हाफमा फ्रान्सले २-१ को अग्रता लिएको थियो। फ्रान्सका लागि खेलको ३८ औँ मिनेटमा एन्टिनियो ग्रिजम्यानले पेनाल्टी मार्फत एक गोल गरेका हुन् भने एक गोल आत्मघाती उपहार पाएको हो।
खेलको १८ औं मिनेटमा एन्टिनियो ग्रिजम्यानले डी बक्स बाहिरबाट प्रहार गरेको फ्रिकिक क्रोएशियाका मारियो मान्डजुकिकको टाउकोमा लाग्दै बलले जाली चुमेपछि आत्मघाती गोलबाट फ्रान्सले सुरुवाती अग्रता लिएको थियो। जुन विश्वकप फाइनलको इतिहासमा भएको पहिलो आत्मघाती गोल समेत हो।
क्रोएशियाका इभान पेरिसिक र मारियो मान्डजुकिकले एक एक गोल फर्काएका थिए।




















