१५ चैत्र २०८०, बिहीबार
नेपालगन्जमा ‘मानव सेवा आश्रमका’लागि मुठ्ठीदान अभियान
  • काँचुली खबर

१ जेष्ठ, नेपालगञ्ज । सडकमा जीवनयापन गरिरहेका मानिसहरूको मानवोचित व्यवस्थापनकालागि गत वर्षदेखि नेपालगञ्जमा सुरु भएको मानव सेवा आश्रमलाई निरन्तरता दिन मुठ्ठीदान कार्यक्रम सुरु भएको छ । गतवर्ष वैशाख १ गतेदेखि भाडाको घरमा सञ्चालन भइरहेको आश्रममा प्राप्त हुने सहयोग दिनानुदिन घट्न थालेपछि आश्रमले नेपालगञ्जका पसल तथा घरमा मुठ्ठीदान सुरु गरेको मानवसेवा आश्रम नेपालगञ्ज शाखाका संयोजक उर्विन सापकोटाले जानकारी दिए ।

शाखा संयोजक सापकोटाले भने, “देशको आर्थिक अवस्था कमजोर भएसँगै विभिन्न अवसरमा स्वेच्छिकरुपमा प्राप्त हुने सहयोग कम हुँदैआएको छ, सर्तसहित हुने भएकाले वैदेशिक सहयोग लिने गरेका छैनौँ, अहिले आश्रमलाई निरन्तरता दिन सहयोग अभियान चलाएका छौँ ।”

अभियानमा नगदसहित खाद्यान्न र कपडा पनि सङ्कलन भइरहेको छ । यो अभियान अन्तर्गत मानव सेवा आश्रमले नेपालगञ्जमा गरिरहेको कामको जानकारी पनि हुनेछ । आश्रम सञ्चालनमा आएपछि सहयोगी दाताहरूले जन्मदिन, विवाह वर्षगाँठ, संस्थाको वार्षिकोत्सव, व्रतबन्ध, छोराछोरीको न्वारन, पास्नी, विभिन्न चाडपर्वमा खुसीयाली मनाउन साथै पितृहरूको सम्झना भोजन गराउन र स्वैच्छिक सहयोग गरिरहेको आश्रमले जनाएको छ ।

मानव सेवा आश्रमको जानकारीको अभाव वा आर्थिक सङ्कटका कारण सहयोगी दाताहरू घट्न थालेपछि आश्रम सञ्चालनमा कठिनाइ नहोस् भनेर घर पसलमा मुठ्ठीदान सङ्कलन गर्न सुरु गरेको मानवसेवा आश्रम नेपालगञ्जले जनाएको छ ।

मानवसेवा आश्रम नेपालगञ्ज शाखामा ५० भन्दा धेरै बेसहाराहरू आश्रित छन् । संस्थाका अनुसार ५ जना महिला र ४५ पुरुष रहेका छन् । एक वर्षसहितका ३ बालबालिका र ८० वर्षीय ज्येष्ठ नागरिक समेत आश्रमको आश्रयमा रहेका छन् ।

आश्रममा रहेकामध्ये ४० जना मनोसामाजिक समस्याबाट ग्रसित रहेको र उनीहरूले नियमित औषधि सेवन गर्दैआएको संस्थाले जनाएको छ । आश्रममा सडकपेटी र सार्वजनिक स्थलहरूमा अत्यन्तै कष्टपूर्ण, दयनीय एवं पीडादायी जीवनयापन गर्न विवश बेवारिसे, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिक रूपमा कमजोर सहयोगापेक्षी सडकआश्रित मानिसहरूको उद्धार, पारिवारिक पुनर्मिलन हुन नसकेकाको पालनपोषण, औषधोपचार र संरक्षण गर्दै आइरहेको छ ।

  • १ जेष्ठ २०८०, सोमबार १४:०३ प्रकाशित
  • Nabintech