१६ चैत्र २०८०, शुक्रबार
कोहलपुरमा पनिकाको भवन शिलान्यास, १ वर्षभित्रै निर्माण सम्पन्न हुने
  • काँचुली खबर

२१ बैशाख, कोहलपुर । बाँकेको कोहलपुरमा त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय निर्माण कार्य सुरु भएको छ । कोहलपुर नगरपालिका २ शिवमन्दिर नजिकै करिब ४ कठ्ठा जग्गामा ५ करोड ४८ लाख ८५ हजार २ सय ७३ रुपैया ९७ पैसामा प्रशासनिक भवन बन्न लागेको हो ।

कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य र त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बुधबार संयुक्त रुपमा भनको शिलान्यास गरेका छन ।

शिलान्यास कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले नेपालगञ्जमा बन्न लागेको कार्यालय कोहलपुरमा ल्याउन धेरै संघर्ष गरेको बताए ।

आचार्यका अनुसार सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको कामकाज गर्ने गरी यो भवन निर्माण हुन लागेको छ । क्याम्पस तथा डिग्री तहका विद्यार्थीहरुले काठमाण्डौं जानुपर्ने र विभिन्न समस्याहरु पाउने गरेका थिए । अबको ११ महिनापछि कोहलपुरबाट नै काठमाण्डौंमा पाइने सेवाहरु उपलब्ध हुने नगर प्रमुख आचार्यले बताए ।

यस्तै त्रिविको क्षेत्रीय परिक्षा नियन्त्रण कार्यालयका सहपरिक्षा नियन्त्रक सुमन गौतमले ५ करोड ४८ लाख ८५ हजार २ सय ७३ रुपैया ९७ पैसामा भवन बन्न लागेको बताए ।

‘४ तलाको भवन बन्ने छ, जसमा १८/२८ का कोठाहरु हुनेछन्,’ उनले भने, ‘यसमा काठमाण्डौंबाट दिइने सेवाहरु कोहलपुरबाट नै उपलब्ध गराउनेछौं ।’

तीन प्रदेशका करिब २ सय बढि क्याम्पसहरुलाई सेवा प्रवाह गर्ने उद्देश्यका साथ कोहलपुरमा भवन बनाउन लागेको त्रिविको क्षेत्रिय परिक्षा नियन्त्रण कार्यालयका सहपरिक्षा नियन्त्रक गौतमले बताए ।

कोहलपुरमा रहेको जय भवानी निर्माण सेवाले २०८० चैत्र २६ गतेसम्म भवन निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता गरेको छ ।

  • २१ बैशाख २०८०, बिहीबार १२:३१ प्रकाशित
  • Nabintech