एसिसी प्रिमियर कप फाईनल : युएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल
  • काँचुली खबर

१८ बैशाख, काठमाण्डौं । एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ। खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। टिममा दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झाले स्थान बनाएका छन्। दीपेन्द्रले पाँच खेलमा राम्रो ब्याटिङ गर्न सकेका छैनन्। तीन पटक दोहोरो अंकमा रन बनाउन चुकेका दीपेन्द्रले पछिल्ला पाँच खेलमा कुल ३४ रन मात्र बनाएका छन्।

नेपाली टिममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन ।

एसिसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै नेपाल एसिया कप २०२३ मा खेल्ने सपनाको नजिक पुगेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई पराजित गर्न सके नेपालको एसिया कप खेल्ने सपना पूरा हुनेछ।

एसिया कपमा स्थान बनाएपछि नेपालले विश्व क्रिकेटका शक्ति राष्ट्रद्वय भारत र पाकिस्तानसँग खेल्न पाउनेछ। आगामी सेप्टेम्बरमा हुने तय एसिया कपको समूह ‘ए’ पाकिस्तान र भारतसँगै एसिसी प्रिमियर कप विजेता खेल्ने तालिका छ। एसिया कपको अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ।

नेपालका लागि भारत र पाकिस्तानसँग खेल्नु ठूलो अवसर हो। कप्तान रोहितकुमार पौडेलले सोमबार युएईविरूद्धको खेल नेपालका लागि एकदमै महत्वपूर्ण भएको बताएका छन्।

  • १८ बैशाख २०८०, सोमबार ०९:०१ प्रकाशित
  • Nabintech