गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डे नियुक्त
  • काँचुली खबर

१४ बैशाख, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे नियुक्त भएका छन् । उनलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

अब नवनियुक्त मुख्यमन्त्री पाण्डेले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । माओवादी समेतको समर्थन जुटाएर पाण्डेले बहुमत साँसदको हस्ताक्षरसहित बिहीबार प्रदेश प्रमुख गुरूङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

यसअघिका मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले ९ चैतको प्रदेशसभा बैठकमा विश्वासको मत पाउन सकेका थिएनन् । चैत १० गते माओवादीले मन्त्रीसहित समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार अधिकारीले प्रदेशसभामा विश्वासको मतसम्बन्धी पेस गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्न सक्ने व्यवस्था बमोजिम अधिकारी मुख्यमन्त्री भएका थिए । नेपाली काँग्रेस संसदीय दलका नेता पाण्डेले पनि फेरि सोही उपधारा बमोजिम माओवादीसमेतको समर्थनमा मुख्यमन्त्री दाबी गरेका हुन् ।

अधिकारीले विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख गुरुङले १४ गते ४ बजेसम्मको म्याद दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान गरेका थिए ।

एमाले नेता अधिकारी पुस २५ गते मुख्यमन्त्री भएपछि पहिलोपटक सोही महिनाको २९ गते प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव गरेका थिए ।

त्यसपटक उनलाई माओवादी र राप्रपाको पनि समर्थन थियो । तर, माओवादीले समर्थन फिर्ता गरेपछि उनी अल्पमतमा परेका थिए । ९ चैतमा विश्वासको मतसम्बन्धी प्रस्ताव राख्दा ६० सदस्यीय गण्डकी प्रदेशसभामा उनको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत परेको थियो ।

गण्डकीमा काँग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन् ।

  • १४ बैशाख २०८०, बिहीबार १६:१२ प्रकाशित
  • Nabintech